सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो ।

दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

उनका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएका छन् । उनले भने, ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’ गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, ‘व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’ राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले बताए ।

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहनु भएका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए ।

आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड संक्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । उनले भने, ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’ सबै व्यवसायीले संक्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनले बताए ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया