खोजखबर

नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

बासुदेव गिरी २०७७ कार्तिक ३ गते १७:४३ मा प्रकाशित

प्युठान । नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । झिमरुक गाउँपालिका वडा नं ६ स्थित तोरवाङ्ग नेटामा निर्माण गरिएको भवनको गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले उद्घाटन गरे ।

उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जिसीले आफू निर्वाचित भएको तीन वर्षमा पालिका क्षेत्रमा विभिन्न विकास निर्माणका कामहरु गरेको बताए । मानव समाजको चेतनाको आधारमा विकासका कामहरु गर्न सकिने उनले बताए ।

पालिकाले बितेको तीन वर्षको अवधिमा सड्क, बिजुली, ससाना खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको बताए । कार्यकालमा पालिका भित्रका ८ वटै वडालाई सुविधा सम्पन्न र सबैको आफ्नो भवन निर्माण गर्ने योजनामा रहेको उनले बताए ।

‘वडा तथा गाउँपालिका भवन निर्माणका लागि स्थानीयले पनि निशुल्क जग्गा दिएर सहयोग गर्नुभएको छ, अध्यक्ष जिसीले भने, ‘सबैको साथमा हामीहरुले काम गरेका छौँ ।’ पालिका भित्र खरका छाना भएका नगरिकको घरमा जस्तापाता लगाउनका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको उनले बताए ।

बिगत तीन वर्षदेखी मासिक ६ हजार रुपैयाँ तिरी भाडाको भवनबाट काम गर्दै आएको वडा कार्यालयले आफ्नो भवन निर्माण गरेपछि काममा सहज हुने विश्वास लिएको वडाध्यक्ष निमानसिंह जिसीले बताए ।

करिब ३ रोपनी जग्गामा उपभोक्ता समितिमार्फत हलसहित ४ कोठे भवन निर्माण गरिएको अध्यक्ष जिसीले बताए । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपैयाँ गरी ६६ लाख ६३७ रुपियाँ लागतमा भवन निर्माण गरिएको उनको भनाई छ ।

झिमरुक गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष निमानसिंह जिसीको अध्यक्षता, गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीको प्रमुख आतिथ्यता, गाउँपालिकाकी उपाध्यक्ष पवित्रा जिसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगाएतको उपस्थितीमा भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य हेमराज भट्टराईले गरेका थिए ।

यस्तै ,झिमरुक गाउँपालिका वडा नं ४ मा पनि वडा कार्यालय भवन निर्माण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपियाँ गरी ६६ लाख ६३७ रुपैयाँ लागतमा कोछेटारीमा भवन निर्माण गरिएको वडाध्यक्ष सिताराम पोख्रेलले बताए ।

३ रोपनी जग्गा स्थानीय बेलकुमारी जिसी, कृष्णबहादुर केसी र ललित थापाबाट निशुल्क प्राप्त भएसँगै उक्त जग्गामा भवन निर्माण गरिएको बताए । जीर्ण र पुरानो साविक गाविसको भवनबाट चल्दै आएको वडा कार्यालय नयाँ भवन निर्माण पुरा भएपछि गत कार्तिक १ गते उद्घाटन गरिएको हो ।

उद्घाटन गरिएको भवनमा सोमबारदेखि कार्यालयका नियमित काम सुचारु गरिएको उनको भनाई छ । प्रायः गरेर वडा कार्यालयको स्थानहरु छनोट गर्दा यातायात, बिजुली, सञ्चार, खानेपानीलाई उच्च प्राथमिकतामा राखेर जनताको पायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण गरेको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।

पालिका भरका ८ वडा मध्ये पहिलो वर्ष वडा नं ५ मच्छीमा कार्यालय निर्माण गरिएको थियो । हालसम्म वडा नं १, वडा नं ३ र वडा नं ८ कार्यालय भाडाको भवनबाट सञ्चालन भईरहेका छन् भने वडा नं २, वडा नं ७ वडा कार्यालय साकिककै गाविस भवनबाट कार्यालयका नियमित कामकाज सञ्चालन भएका छन् ।

त्यस्तै गाउँपालिकाको प्रशासनीक भवन पनि निर्माण गर्दै छ । चालु आर्थिक वर्षको असारसम्ममा काम सम्पन्न हुने गरी अढाइ तले २२ कोठाको सुविधासम्पन्न सभाहलसहित भवन निर्माण कार्य समेत सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय