प्युठान अस्पतालमा ओपिडी सेवा बन्द

प्युठान । प्युठान अस्पतालमा कार्यरत डाक्टरहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत चार जना डाक्टर र १ जना ईमरजेन्सीमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको प्युठान अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेले जानकारी दिए ।

अस्पतालमा अर्को सूचना नआएसम्मका लागि ओपिडी, फिजियोथेरापी र डेन्टल सेवाहरु बन्द गरिएको उनले बताए । यो अवधिमा ईमरजेन्सी र प्रसुती सेवालाई भने निरन्तरता दिईने उनको भनाई छ ।

कोरोना परिक्षण नगराएका डाक्टरहरु पनि बिरामी रहेकाले आजदेखी ओपिडी सेवा बन्द गरी पिसीआर परिक्षणका लागि स्वाव संकलन गरिने उनले बताए । डाक्टरहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति तथा बिरामीहरुमा कोरोना नसरोस भन्नका लागि ओपिडी सेवा बन्द गरिएको हो ।

प्युठानमा हालसम्म कोरोना संक्रमितको संख्या ७२० पुगेको छ भने हाल संक्रिय संक्रमित १२७ जना रहेका छन् । आईतबार मात्रै जिल्लामा ३१ जना संक्रमित थपिएका थिए । कोरोना संक्रमणका कारण यसपूर्व प्युठानमा दुई जनाको मृत्युसमेत भएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया