२५ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । सूचीकृत कम्पनीले वार्षिक रूपमा तिर्नुपर्ने नवीकरण शुल्क नबुझाएपछि त्यस्ता कम्पनीको सेयर कारोबार रोक्का गरिएको सूचना मार्फत नेप्सेले जानकारी गराएको हो ।  सेयर कारोबार रोक्का भएका कम्पनीहरुमा मल्टिपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रो, जोशी हाइड्रो, नेपाल हाइड्रो, हिमालयन डिष्टिलरी लगायतका कम्पनी छन । यीबाहेक नेप्सेमा सूचीकृत भएर पनि लामो समयदेखि कारोबार नभएका अन्य कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

नवीकरण शुल्क नबुझाउनेमा अधिंकाश लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनीहरु रहेका छन । यी कम्पनीहरुलाई प्रत्येक बर्ष नेप्सेले कारोबार रोक्का गर्ने गर्छ । त्यस्ता कम्पनीहरुमा हरिसिद्धि इँटा तथा टायल, ज्योति स्पिनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाली रबर, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, रघुपति जुट मिल्स, नेपाल वेयलफेयर कम्पनी, नेपाल ट्रेडिङ, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, श्री राम सुगर मिल्स, अरुण वनस्पति, विराट सुज लिमिटेड, बुटवल स्पिनिङ मिल्स लगायतका लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनी रहेका छन ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार उक्त कम्पनीहरुको सूचीकरण तथा कारोबार स्थगित गरेको जनाएको छ । कारोबार रोक्का हुनेमा धेरैजसो उत्पादन तथा प्रशोधन समूहका कम्पनी रहेका छन । नियमअनुसार, आर्थिक वर्ष समाप्त भएको तीन महिनासम्ममा सूचीकरणको नवीकरण शुल्क नबुझाउने कम्पनीको सेयर कारोबार रोक्का गर्ने गरिन्छ । कारोबार रोक्का भएका कम्पनीले सूचीकरण नविकरण शुल्क बुझाउने बित्तिकै कारोबार खुला गर्ने गरेको नेप्सेले जनाएको छ ।  धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको कम्पनीले वार्षिक रूपमा नवीकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।

दुई कम्पनीको कारोबार फुकुवा
वार्षिक नविकरण शुल्क नबुझाएको भन्दै नेप्सेले आइतबार कारोबार रोक्कका गरेका दुई कम्पनीमध्ये २ वटाले नविकरण शुल्क बुझाएका छन् । हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्सले नविकरण शुल्क बुझाएका छन । हिमालयन र मल्टिपपर्सले आफूहरु कारबाहीमा परेको थाहा पाएलगत्तै नविकरण शुल्क बुझाएको नेप्सेले जनाएको छ । नविकरण शुल्क आएसँगै उनीहरुको रोक्का सेयर कारोबार खुला गरिएको छ । ति दुई कम्पनीको सेयर कारोबार सोमबारदेखि हुने छ ।

प्रतिक्रिया