गस्तीमा निस्किएका प्रहरीको हत्या

कैलाली । धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकको तस्करले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ । उनी प्रहरी जवान रामबहादुर साउँदसँगै शनिबार राती ८ बजे मोटरसाइकलमा ड्युटीमा निस्किएका थिए । सीमा क्षेत्रमा तस्करको समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरू तस्करकै सिकार बनेका हुन् ।

शनिबार रातीको खाना खएर धनगढी–१० को सीमा क्षेत्र (सव पिलस नं १६४ ए) को आसपास गस्तीमा गएका विकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव आइतबार बिहान फेला परेको हो । नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा असई विकको प्रहरी पोसाकमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जवान साउँद भने आइतबार साँझसम्म पनि सम्पर्कमा आएका छैनन् ।

आइतबार बिहानसम्म पनि उनीहरू चौकीमा नफर्किएपछि प्रहरीको टोली उनीहरूको खोजीमा निस्किएको थियो । खोजी गर्ने क्रममा सुरुमा उनीहरूले प्रयोग गरेको मोटरसाइकल भेटियो तर उनीहरू भेटिएनन् । खोजीकै क्रममा मोहना नदीमा एक शव भेटियो । गस्तीमा गएका दुई जनामध्ये एकको हत्या भएको प्रहरीले निस्कर्ष निकाल्यो । शव निकालेर हेर्दा असई विककै पुष्टि भयो । प्रहरी अधिकारी साउँदको पनि हत्या भएको हुनसक्ने दाबी गर्छन् ।

डिआइजी उत्तमराज सुवेदी तस्करको समूहले नियोजित रूपमा प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रूपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । त्यसैले प्रहरीले हत्यामा तस्कर समूहकै संग्लनता हुनसक्ने अनुमान गरेको छ । असई विकको शव फेला परेको छ । उनको घाँटी रेटेको पाइएको छ । उनीसँग भएको हतियार भेटिएको छैन ।

तस्कर समूहले अवैध सामान तस्करी गर्न गिरोहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हुनसक्ने बताइएको छ । प्रहरी जवान साउँदको मोबाइल र बुट भेटिएको छ । घटनास्थल नजिकै ठूलो उखुबारी पनि छ । जवान साउँद सम्पर्कमा छैनन् । यस्तोमा तस्कर समूहले साउँदमाथि पनि आक्रमण गरेको हुनसक्ने प्रहरी अधिकारीको दाबी छ । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया