उपचार अवधिभर क्षयरोगीलाई दैनिक दुई अण्डा

काभ्रे । बाग्मती प्रदेशको अति विकटको सूचीमा रहेको खानीखोला गाउँपालिकास्थित ताल्ढुंगा स्वास्थ्यचौकीले क्षयरोगी बिरामीलाई दैनिक उपचारमा ल्याउन नयाँ सकारात्मक कदम सूचारु गरेको छ । विगत वर्षहरूदेखि नै नेपाल सरकारको पुनः उपचारमा आएका क्षयरोगी (टिभी) का बिरामीहरूलाई दिने पोषणको कार्यक्रम रहेको भए पनि यसको कार्यान्वयन हुन सकेको थिएन । विकटका क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउन सकारात्मक कदम स्वरूप ताल्ढुंगा स्वास्थ्यचौकीद्वारा क्षयरोगका बिरामीलाई दैनिक अण्डा वितरण गर्ने कार्यक्रमको आरम्भ गरेको स्वास्थ्यचौकी इन्चार्च नवराज दाहालले बताए ।

पुनः उपचारमा आएका क्षयरोगीका बिरामीलाई अण्डा वितरण गर्दै खानीखोला गाउँपालिकाका सामाजिक विकास संयोजक एवं वडा–३ का वडाध्यक्ष जयबहादुर लुंगेलीले यो कार्यक्रम निकै सकारात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा–५ का वडाध्यक्ष दुर्गाप्रसाद तिमल्सिनाले यो कार्यक्रमलाई निरन्तरता दिने कुरामा र यस्ताखाले अरू विषयहरूमा पनि काम गर्नेकुरामा आफूहरू अगाडि बढिरहने बताए ।

नेपाल सरकारकै केही पैसा र बाँकी अपुग रकम समाजसेवी स्थानीय व्यवसायी विष्णुकुमार नेपालीले प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस्ता बिरामीहरूका लागि दैनिक दुई वटाका दरले उपचार अवधिभर अण्डा उपलब्ध गराउन पाउँदा आफूले निकै गौरवान्वित महसुस गरेको बताए ।

लामो समयदेखि व्यावसायिक पेसा अँगालेका समाजसेवी नेपालीले यस्तो अवस्थाका बिरामीलाई सहयोग गर्ने काम गर्न पाउँदा मन आनन्दित हुने गरेको बताए । स्वास्थ्यचौकी इन्चार्च नवराज दाहालका अनुसार खानीखोला गाउँपालिकामा २०७६ मंसिर महिनाबाट टिभी ल्याब सञ्चालन गरेको र हालसम्म सयभन्दा बढीको खकार परीक्षण भएको र आधा दर्जनहरूमा क्षयरोग पत्ता लगाई उपचाररत रहेको पनि बताएका छन् । इन्चार्च दाहालले क्षयरोगका बिरामीलाई पोषणको मात्रा पूरा गर्न अण्डाको भूमिका रहने बताए । उनले गरिबीका कारण पैसा नभएका र त्यस्ता रोगीहरूले रोग पालेर बसिरहेको अवस्थाहरूलाई बाहिर उपचाररत अवस्थासम्म ल्याउन यो कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

दाहालले नेपालमा हरेक वर्ष ७० हजारमा क्षयरोग देखिने गरेकोमा आधाले पनि उपचार सेवा नलिने गरेको तथ्यांक रहेको भन्दै खानीखोला गाउँपालिकाको सन्दर्भमा हरेक वर्ष ३२ जनामा क्षयरोगका नयाँ रोगी भेटिने गरेका छन् । त्यसका लागि जनचासो र प्रयास अभावका कारण कोही पनि सम्पर्कमा नआउने तथ्यांक अब तोडिएको र अब आफूहरू छिट्टै टार्गेटअनुसार रोगीहरूको तथ्यांकमा पुग्ने प्रयास गरिरहने बताए । जिल्लाभरको यसको तथ्यांक पनि यस्तै लुकेको छ । तर, खुला प्याकेजका कार्यक्रम र प्रोत्साहन नपाउँदा हजारौँ विरामीहरूले रोग पालेर, लुकाएर बस्न विवश हुने गरेको बताइन्छ ।

दाहालले सुत्केरी सेवाको सन्दर्भमा ताल्ढुंगा स्वास्थ्यचौकीबाट चालु आवमा २० जना सुत्केरी गत आवमा ५८ जना गर्भवतीहरूले सुरक्षित सुत्केरी सेवा लिइएको बताए । उनले कर्मचारी र आर्थिक अभावका बावजुद पनि आफ्नो सेवा प्रवाहको सन्दर्भमा चुस्तदुरुस्त गर्नुपर्ने कुरामा कति पनि कसर बाँकी नराख्ने बताएका छन् ।

प्रतिक्रिया