कृषिको अपहेलना गरेर कसरी होला खाद्य सुरक्षा ?

प्रतिमा भण्डारी

पहाडका पाखापखेरो रित्तै छोडेर आधुनिक हुनका लागि खाद्य बालीको स्वर्ग तराईका उर्वरभूमि दिनप्रतिदिन प्रदूषित गराइरहेका छन् र आफूले फापरजस्ता नेपाली माटोको अन्नको परित्याग गरी विदेशबाट मगाई नेपालीपनको बेइज्जत गर्ने काम गरिरहेका छन् । त्यसमाथि रासायनिक मलको प्रयोगले अमृततुल्य हाम्रो माटोलाई विषाक्त गराएको छ ।

‘सर्वेषाम् जीवनम् कृषिम् अवलम्बते’ अर्थात ः मनुष्यको जीवनमा कृषिको महत्व अपरिहार्य रहेको छ । अमरावती नगरको राजा कुबेरभन्दा पनि धनवान कृषकलाई मानिन्छ र उसको सर्वस्व हुन्छ कृषि र त्यहाँ प्रयोग हुने माटो । बोटवृक्षको पातपतिंगर धर्तीमा समाई, पशुपंक्षीको शरीरको अंश त्यसमा मिलाई र आकाशबाट भएको वर्षाको स्तनपान गराई माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र त्यसैबाट प्रफुल्लित भएर जन्म लिन्छ कृषि । पौराणिककालदेखि नै कृषिको कति महत्व छ भनेर वेद, पुराण, कुरान आदिमा प्रशस्त उदाहरण पाउन सकिन्छ । द्वापरयुगमै कृष्णले गोवर्धनको पूजा गर्न लाउनु पनि कृषिलाई अपरिहार्य मानेरै हो र कलियुगमा पनि कात्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन पूजा गर्ने गरिन्छ ।

मानव सभ्यताको विकाससँगै, दिगो कृषिको महत्वको विषय त्यसलगत्तै आएको मानिन्छ । परापूर्वकालमा सिकार र सभा समाजबाट मानिसहरू नटिक्ने अवस्थादेखि खेती किसानी गर्नमा बाध्य भए र सभ्यताको विकाससँगसँगै निर्वाहमुखी खेती र त्यसबाट भएको हरित क्रान्तिबाट प्रभावित भई मानिस व्यापारिक रूपले कृषिमा उन्नत जातको बालीमा आकर्षित भएको पाइन्छ ।

जसरी जन्म दिएकी आमाले आफ्नो शिशुलाई शारीरिक, बौद्धिक रूपले स्वस्थ्य रहनका लागि अमृतरूपी स्तनपान गराएकी हुन्छिन्, त्यस्तै यस धर्तीमा रहेका अन्नबाली, फलफूल आदिले जगतकै प्राणीलाई आफ्नो जीवनकाल अमृत दिइरहेको हुन्छ । जुन पोषिलो हुन्छ, स्वादिष्ट हुन्छ र आफ्ना सन्ततिलाई कुनै पनि नोक्सान गर्दैन । यदि यस धर्तीमा प्राणीको केही अस्तित्व छ भने त्यो मात्र कृषिको कारणले रहिरहेको छ । प्राचीन कालमा जसरी मानिसले कृषिलाई पूजा अहिलेको सन्दर्भमा त्यसको ठ्याक्कै विपरीत रहेको छ । कृषिको अर्थ यो मात्र होइन कि बालीबोटको उब्जाउ मात्र गर्ने, त्यसलाई उपभोग गर्ने, असल कृषि त्यही हुन्छ जो पोषिलो, रसायनमुक्त अन्न बालीको उत्पादन गर्छ । पहिलेको तुलनामा अहिलेको युग आलस्यको युग बनिरहेको छ । परापूर्वकालमा जसरी हाम्रा पितापुर्खाले मकै, कोदो, ढिँडोजस्ता पोषिलो आहार खाएर अंग्रेजसँग लाप्पा खेल्न तम्सिन्थे, अहिलेको अवस्थामा त्यस्तो कुनै अवस्था छैन । अहिलेको शताब्दीलाई हेर्दा त पितापुर्खाले गरेको योगदानको आधुनिक युगले खिल्लि उडाएजस्तो देखिन्छ । अहिलेका युवा त किशोर अवस्थाबाटै क्यान्सर, मधुमेह, उच्चरक्तचाप, दम आदिको सिकार हुन पुगेका छन् र यसको प्रमुख कारण पोषिलो आहार नभएरै हो र यसको समाधान दिगो कृषिबाटै सम्भव छ ।

दिगो कृषि भनेको लामो प्रहरसम्म प्राणी र जमिनको स्वास्थ्यका लागि गरिने एक कृषि पद्धति हो । दिगो कृषि प्रणाली प्रयोगबाट कृषकहरूले पौष्टिक खानादेखि लिएर परिवार र समुदायको जरूरत पूरा गर्नुका साथै पानी, माटो र भविष्यका लागि बिउ संरक्षण पनि गर्छन् । राम्रो बालीका लागि स्वस्थ्य माटो आवश्यक हुन्छ । धेरै किसानहरूले माटोलाई प्राकृतिक मलहरू (जस्तै ः जनावरको मल, हरियो मल र कम्पोस्ट मल) राखी राम्रो बनाउँछन् । प्राकृतिक मल रासायनिक मलभन्दा एकदमै स्वास्थ्यकर रहेको हुन्छ । । यसले बिरुवालाई चाहिने सबै पोषण थोरै रकम वा निःशुल्क रूपमा उपलब्ध गराउन मद्दत पनि गर्छ ।

तर, अहिलेको वर्तमान परिप्रेक्ष्यमा हेर्दा युवाहरू, किसानहरूले दिनप्रतिदिन आलस्यको सिकार भई कृषि प्रणालीमा विष फैलाउने कार्य अग्रपंति रूपमा अगाडि बढाएका छन् । धेरै उब्जाउका लागि रासायनिक मल प्रयोग गरी माटोको आयु घटाउनका साथै जल, वायुलाई पनि प्रदूषित गर्दै आइरहेका छन् । खेतीयोग्य जमिनमा जहाँ अन्नबालीका दाना फल्नपर्ने हो त्यहाँ ठूलाठूला महल फलाएका छन् । पहाडका पाखापखेरा रित्तै छोडेर आधुनिक हुनका लागि खाद्य बालीको स्वर्ग तराईका उर्वरभूमि दिनप्रतिदिन प्रदूषित गराइरहेका छन् र आफूले फापरजस्ता नेपाली माटोको अन्नको परित्याग गरी विदेशबाट मगाई नेपालीपनको बेइज्जत गर्ने काम गरिरहेका छन् । त्यसमाथि रासायनिक मलको प्रयोगले अमृततुल्य हाम्रो माटोलाई विषाक्त गराएको छ ।

रासायनिक मल हाम्रो देशको उत्पादन होइन । यसको समिश्रणबाट तयार भएका विभिन्न मल (जस्तै ः युरिया, डिएपी, पोटास) अन्य देशबाट सबैभन्दा बढी खरिद गरी प्रयोगमा आउने वस्तु हो । त्यसमाथि व्यावसायिक कृषकहरूले यसको प्रयोग अत्यधिकभन्दा अत्यधिक मात्रामा प्रयोग गरी पजबmभ आहरलाई नै विषाक्त गराएका हुन्छन् । त्यति मात्र नभएर नेपालमा प्रतिवर्ष लगभग १५ अर्ब रुपैयाँ बराबरको रकम विदेशी रासायनिक कम्पनीलाई गइरहेकोे हुन्छ । त्यो रकम मात्र बचाउन सके पनि हामी आत्मनिर्भर हुन सक्छौँ । र, यो कुरा सर्वप्रथम किसानहरूलाई सम्झाउन आवश्यक छ । अहिलेको सन्दर्भमा आमकृषकलाई रासायनिक मल र विषादीको बहिष्कार गर्ने अभियानमा तत्पर बनाउन अतिआवश्यक देखिन्छ ।

रासायनिक मल हरेक वर्ष बढाउँदै नगएमा उत्पादन घट्न जान्छ र यदि यो हरेक वर्ष बढाउँदै गए उत्पादन खर्च बढेर जान्छ । यसले माटोको तापक्रम बढाउँछ, जसको कारण खेतमा बढी मात्रामा दिनुपर्छ । त्यसैले यो बिगबिगी रोक्ने एक मात्र उपाय प्रागारिक खेती हो । गहुँ बालीमा प्रांगारिक मल मात्रै राखी खेती गरे तीनपटक सिँचाइ गरे पुग्छ भने रासायनिक मल प्रयोग गरेको खण्डमा पाँचपटक सिँचाइ गर्नुपर्छ जसले पानीको खर्चसमेत बढाउँछ । त्यति मात्र नभई जति बालीले जमिनको पानी तान्दै जान्छ त्यति पानीको सतह घट्दै जान्छ र यसले पानीको हाहाकार निम्त्याउँछ । त्यसका अतिरिक्त रासायनिक विषादीको दुर्गन्ध वायुमा मिसिन गई क्यान्सर, श्वासप्रश्वाससम्बन्धी भयानक रोगहरू निम्त्याउँछ । यही कारणले गर्दा पनि अहिले मानिसहरू बोसो र तिघ्रामा मासुमात्र थुपारेर आफूलाई रोगको एउटा कुनामा बन्द गरिरहेका छन् । त्यसैले ढिलासुस्ती नगरी किसान तथा उपभोक्तासामु यसको नकारात्मक प्रकोपको कुरा प्रस्तुत गर्न एकदम जरूरी छ ।

वास्तवमा हामी जुन समाजमा हुर्किएका छौँ त्यो समाजले बाल्यकालबाटै परीक्षामा थोरै अंक आए हलो समाउनी होलास् है, भन्दै कृषिप्रति नकारात्मक छाप थोपरेका हुन्छन् । फलस्वरूप हामी कृषिप्रति अनाकर्षित हुन्छौँ । सर्वप्रथम त कृषिप्रति सबैको माया हुनु जरुरी रहेको छ भन्ने कुरा बाल्यकालबाटै सिकाउनु जरूरी छ । गोबर देख्दा छ्या भन्नको साटो यसले माटोलाई नयाँ जीवनदान दिन्छ भनेर हरेक अभिभावकले आफ्ना सन्ततिलाई सिकाउनु जरूरी छ । प्राथमिक तहबाटै विद्यार्थीलाई रासायनिक मलको बेफाइदा बारेमा थोरैथोरै मात्रामा भए पनि जानकारी दिँदै, सोही उमेरबाट विद्यार्थीलाई कृषियोग्य प्रयोगात्मक शिक्षा दिन बारीमा लागि माटो र मलसँग खेल्ने वातावरण सिर्जना गरिदिनु आवश्यक छ ।

प्रांगारिक खेती आजको आवश्यकता रहेको छ, जसबाट माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र उसको आयु बढाउन । यसबाट न त बोट विरुवालाई नोक्सानी नै हुन्छ, न त मानव शरीरमा विष फैलिन पाउँछ । सहजरूपमा गर्न सकिने, मूल्य सस्तो, पर्न जाने हुँदा र प्रकृतिलाई कुनै पनि नोक्सानी नगर्ने हुँदा यो आजको आवश्यकता हो । जनावरको मल, हरियो मल, कम्पोस्ट मल प्रयोग हुने हुँदा यसबाट उब्जनी भएका वाली पनि स्वास्थ्य, पोषिला हुन्छन् । सन् २००३ मा एफएओबाट ग्याप (न्ब्ए) प्रविधि सुरु भयो र यस कृषि प्रविधिको प्रमुख ध्याय नै स्वास्थ्य, पोसिलो र गुणस्तरीय बाली, फलफूल, सब्जी उब्जनी गर्नु हो र त्यसलगत्तै नेपालमा यो प्रविधि २०७५ असोज १९ मा भित्रिएको हो । यसमा किसानहरूले कुनै पनि रासायनिक मलको प्रयोग नगरी बालीहरू उत्पादन गर्छन् जसबाट कृषकको मनोबल अत्यन्त बढ्छ । स्वास्थ्य फल, तरकारी छिटो नसड्ने, शरीरलाई कुनै पनि नोक्सान नगर्ने हुँदा उपभोक्ता पनि ढुक्क हुँदै खरिद गर्छन् र किसानहरूले पनि बजार भाउ राम्रो पाउँछन् ।

दिगो कृषि प्रणालीमा वातावरणीय स्वास्थ्य, आर्थिक मुनाफा तथा सामाजिक तथा आर्थिक समानता र पशु हितको पृष्ठपोषणलाई ध्यान दिनुपर्छ । यसका निम्ति बाली चक्रको माध्यम अपनाउन पनि सकिन्छ । बालीमा विविधता भएपछि विभिन्न रोगहरूबाट बिरुवालाई बचाउन सकिन्छ । लम्बिय खेती पनि दिगो कृषिको उत्तम पद्धति हो। लम्बिय खेती भनेको जमिनको माथि फल्ने बालीनाली लगाउनु हो यसले कार्बनडाइअक्साइड उत्सर्जन घटाउने र भूक्षय हटाउनसमेत मद्दत गर्दछ ।

यसकारण बढ्दो विषाक्तरूपी खेती त्याग गरी, अमृतरूपी कृषिको थालनी गर्न गाउँगाउँ, बस्तिबस्ती हरेक ओडारमा रहेका कृषकमाझ जानुपर्छ । गुणस्तरीय बिउवीजनदेखि लिएर सिँचाइको बेवास्ता पनि हरेक कृषकको घरदैलोमा पुग्नुपर्छ । थोपा सिँचाइ भनेको के हो ? बालिचक्र भनेको के हो ? हरेक किसानलाई सम्झाउनुपर्छ । जनतालाई आफ्नो अन्न खुवाई जीवन्त राख्ने किसानलाई नेपाल सरकारद्वारा पुरस्कृत गरिनुपर्दछ र पुर्खाजस्तै निरोगी, अटल भई हरेक नेपालीले अंग्रेजलाई यहाँदेखि लखटेभैmँ झार जसरी फैलिएका यी रोगहरूलाई पनि नष्ट गरी निरोगी जीवन बाँच्नुपर्छ ।

प्रतिक्रिया