बिजुली बिगुल र सोम शर्माको सातु

डा.निर्मलमणि अधिकारी

नेपालमा खानेपानीको समेत राम्रो उपलब्धता सुनिश्चित गर्न सकिएको छैन, सिँचाइका लागि आज पनि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ धेरैजसो ठाउँमा, अनि सरसफाइका लागिसमेत पुग्दो गरी पानी उपलब्ध नभइरहेको अवस्था विद्यमान छ । वर्षामा आउने बाढीको आधारमा जलस्रोतमा धनी भन्ठानेर गफ चुट्ने कि दैनिक जीवनमा पानीको अभावले हाहाकार भइरहेको तथ्यलाई बोध गरी योजना, परियोजना, संरचना निर्माण गर्ने ?

नेपाललाई बिजुली (विद्युत्) अवश्यै चाहिन्छ तर जसरी पनि बिजुली बेचेर धनी हुने भन्ने कल्पना (कथाको सोम शर्माको सातुजस्तै) को उडन्ते सपनाको बिगुलचाहिँ अवाञ्छनीय हो । बिजुलीका लागि के कस्ता योजना, परियोजना, भौतिक संरचना, लगानी नेपालको परिप्रेक्ष्यमा उपयुक्त, सान्दर्भिक, व्यवहार्य (फिजिबल) हुन् भन्ने राम्ररी सोच विचारै नगरी पराइ प्रतिमानमा आधारित विकासे संकथनका होहोरिमा मच्चिने प्रवृत्ति अहिले हाबी देखिएको छ । नेपाल–केन्द्रित अनुसन्धान नगरी पराइ प्रतिमानका मात्र आधारमा लागू गरिने विकासे परियोजनाका घातक असरहरू के के हुन सक्छन् भन्ने सोची, विचारी, परीक्षण गरी तब मात्र निष्कर्षमा पुग्नुपर्छ । नेपालको धरातलीय यथार्थसँग मिल्दा योजना, परियोजना, भौतिक संरचना, लगानी मात्र हाम्रो लागि वाञ्छनीय हो ।

निकै ठूला आकारका (दैत्याकार, राक्षसाकार), अति धेरै लगानी चाहिने, ठूलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौँ हजारौँ वर्षदेखिको प्राकृतिक प्रस्रवण प्रणालीलाई ध्वस्त पार्ने, अमानवीय (दानवीय, प्रकृति–भञ्जक, सृष्टि–द्वेषी) परियोजना नेपालको धरातलीय यथार्थ, नेपालीजनको हित, हाम्रो वास्तविक सुखको प्रतिकूल (विरुद्ध) हो । जलविद्युत् परियोजनाका परिप्रेक्ष्यमा पनि यो कसी लगाउनु पर्छ । यदि कुनै जलविद्युत् परियोजना सानो वा मझौला आकारको नभएर निकै ठूलो आकारको (दैत्याकार, राक्षसाकार) छ भने, अनि अति धेरै लगानी चाहिने, ठूलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौँ हजारौँ वर्षदेखिको प्राकृतिक प्रस्रवण प्रणालीलाई ध्वस्त पार्ने किसिमको छ भने त्यो अहितकारी परियोजना हो । साना र मझौला आकारका, स्थानीय सरकार एवं समुदायको स्वामित्व र लगानीमा बन्न सक्ने, विस्थापन र डुबानजस्ता समस्या नगण्य मात्रामा मात्र हुने, नदीको प्राकृतिक प्रस्रवण प्रणालीमा न्यूनतम मात्र व्यतिक्रम हुने जलविद्युत परियोजना हाम्रो लागि हितकारी, वाञ्छनीय, व्यवहार्य हुन् ।

अति धेरै लगानी चाहिने परियोजनाले देशको सर्वांगीण विकासलाई नकारात्मक असर पार्छ । नेपालमा उपलब्ध आर्थिक स्रोतका साथै गैरआवासीय नेपालीबाट र वैदेशिक लगानी समेत सबै सोहोरेर फगत् दैत्याकार जलविद्युत् संरचनाका लागि लगानी गर्ने जुन सोच अगाडि आइरहेको छ, त्यो कार्यान्वयन भयो भने अन्य अपरिहार्य विकास परियोजनाले लगानी नपाउने खतरा देखिएको छ । बिजुली बेचेर धनी हुने सपना एक मन्द विष जसरी फैलिरहेको अहिलेको प्रवृत्तिले नेपाल समृद्धिको भ्रममा परी पक्षाघातको खाल्डोमा खँगारिने सम्भावनालाई इंगित गरिरहेको छ ।

अहिले नेपालमा सरकारी बजेटका साथसाथै सञ्चय कोष र नागरिक लगानी कोष, अनि बैंकमा जम्मा भएका रकमदेखि लिएर सर्वसाधारणका खुत्रुकेमा रहेका पैसासमेत सबै सोहोरेर ठूल्ठूला जलविद्युत संरचना बनाउन खर्चिनु नै नेपालको समृद्धिको एक मात्र उपाय हो भन्ने भ्रम फैलाइएको छ । जलविद्युत् परियोजना समृद्धिका वाहक बन्न सक्छन् यदि उपयुक्त, सान्दर्भिक, व्यवहार्य बनाउन सकियो भने । तर नेपाल–केन्द्रित अनुसन्धान नै नगरी बनाइएका अव्यवहार्य परियोजनाले कष्टैकष्ट, दुःखैदुःख, पीडैपीडा, विपत्ति नै विपत्ति ल्याउन सक्ने सम्भावनालाई पनि साथसाथै राखेर मात्र समष्टि तर्क–वितर्क, विश्लेषण, आँकलन गर्नु पर्छ ।

हामीलाई बिजुली अवश्यै चाहिन्छ तर कति ? हामीलाई आफूलाई प्रशस्त, पर्याप्त, पुगिसरी हुने गरी । हो, हाम्रा जलविद्युत् परियोजनाको लक्ष्यको सीमा हाम्रै आवश्यकता, उपयोगिता, साध्यसँग संगति हुने गरी मात्र निर्धारण गर्नु पर्छ । बिजुली साधन हो, साध्य होइन । बिजुलीलाई उज्यालोको वाहक, ऊर्जाको स्रोत, उद्यमशीलताको साधनका रूपमा लिऔँ, सदुपयोग गरौँ । बिजुलीको प्रयोगबाट कृषि, प्रविधि, यातायात, उद्योग, व्यापार, सेवा–क्षेत्रको विकास कसरी गर्ने हो, यो विचार गरी योजना एवं परियोजना बनाऔँ ।

नेपालमा जलस्रोतमा धनी छ भन्ने उडन्ते गफ हुन थालेको धेरै वर्षदेखि हो । व्यावहारिक कष्ट हेरौँ त – नेपालमा खानेपानीको समेत राम्रो उपलब्धता सुनिश्चित गर्न सकिएको छैन, सिँचाइका लागि आज पनि आकाशेपानीकै भर पर्नुपर्ने अवस्था छ धेरैजसो ठाउँमा, अनि सरसफाइका लागिसमेत पुग्दो गरी पानी उपलब्ध नभइरहेको अवस्था विद्यमान छ । वर्षामा आउने बाढीको आधारमा जलस्रोतमा धनी भन्ठानेर गफ चुट्ने कि दैनिक जीवनमा पानीको अभावले हाहाकार भइरहेको तथ्यलाई बोध गरी योजना, परियोजना, संरचना निर्माण गर्ने ? अति ठूला आकारका एवं अति धेरै लगानी चाहिने जलविद्युत् परियोजनाको मायावी जालमा अल्झेर होइन, बरु समुदाय–केन्द्रित जलविद्युत् परियोजनालाई खानेपानी, सिँचाइ, सरसफाइ आदिसँगसमेत जोडेर धरातलीय यथार्थ अनुकूलका, हितकारी, व्यवहार्य बनाउनु पर्छ ।

विकासको पराइ प्रतिमानको मानसिक दास बनेर विकासको नाराबाजी उरालेर दैत्याकार, आसुरी, दानवीय, मायावी, जाली, कपटी मान्यताको प्रभुत्व गराउने कि हाम्रा मौलिक रैथाने प्रतिमान अनुरूपका योजना, परियोजना, संरचना बनाउने ? आजको मुख्य सवाल यो हो । स्वाधीन, स्वावलम्बी, स्वतन्त्र, समृद्ध अर्थतन्त्र हाम्रो अभीष्ट हो भने विकासको पराइ प्रतिमानलाई प्रश्न गर्नु, त्यो अनुपयुक्त प्रतिमानको विकल्प अभिनिर्माण गर्नु र मौलिक रैथाने प्रतिमानको विकास संकथनको मूलप्रवाहीकरण अनिवार्य छ । अहिले नेपालमा बिजुलीको बिगुल नै अरुथोक भन्दा चर्को बजिरहेको हुनाले बिजुलीलाई नै उदाहरण लिएर अगाडि बढ्न उपयुक्त हुने देखिन्छ ।

लगानी (इन्भेस्टमेन्ट) लाई मौद्रिक मापदण्डबाट मात्र हेरिएको र रैथाने श्रम, अनुभव, अन्तज्र्ञान, सीप, प्रविधि, साझेदारी, स्वामित्वको पक्षचाहिँ प्राथमिकतामा नपरेको किन ? विदेशी लगानीले भविष्यमा निम्त्याउन सक्ने जटिलता, चुनौती, समस्याको तथ्यपरक, वस्तुसंगत (अब्जेक्टिभ), तर्क–आधारित विश्लेषण र आँकलन खोइ ? बिजुलीका लागि जलविद्युत् परियोजना नै पूर्ण भरपर्दा, सबैभन्दा व्यवहार्य (फिजिबल) र सर्वाधिक वाञ्छित परियोजना हुन् त ? होइनन् । संसारमा अन्य वैकल्पिक स्रोतहरूलाई शनैःशनैः प्राथमिकता पाउँदै छन् । यो समयको पदचापलाई हामीले सुन्न, बोध गर्न र व्यवहारमा लागू गर्न सक्नु पर्छ ।

दुई÷तीन दिन लगातार पानी परेको खण्डमा नै पहिरो जाने, बाढीको उच्च जोखिम भएको, भू–कम्पीय जोखिम पनि अति धेरै भएको, भूतलीय संरचनाको कारणले गर्दा नै एक विशेष प्रकारको पानीढलो संरचना अनिवार्य रहेको भौगोलिक परिस्थिति एवं धरातलीय यथार्थले नेपालमा अति ठूला आकारका (दैत्याकार, राक्षसाकार) जलविद्युत् परियोजना उपयुक्त, सान्दर्भिक, व्यवहार्य होइनन् । विकासको परिभाषा नेपालको तथ्य, तथ्यांक, यथार्थ, व्यावहारिकता, सान्दर्भिकता, सापेक्षता, उपयोगिताको मुख्य आधार लिएर गर्नासाथ हामीले किन साना तथा मझौला आकारका भौतिक संरचनावाला परियोजनालाई मात्र प्राथमिकतामा राख्नु पर्छ भन्ने उजागर भइहाल्छ । पराइ प्रतिमानबाट दुरुत्साहित, हावादारी कल्पना बेच्ने र मायावी सपनामा लगानी गर्ने प्रवृत्तिलाई होइनस अनुसन्धानमा आधारित, नेपाल–सापेक्ष चिन्तनबाट दिग्दर्शित, हाम्रै प्रतिमानमा जरो किलो रहेको विकासको संकथनबाट निर्देशित भएर रैथाने अनुभव, अन्तज्र्ञान, सीप, प्रविधिलाई प्राथमिकतामा राखेर हामीले योजना, परियोजना, भौतिक संरचना, लगानी, श्रम आदिबारे निर्णय गर्नु पर्छ ।

प्रतिक्रिया