बार्सिलोनालाई सेल्टाको चुनौती

स्पेन । स्पेनिस ला लिगामा शुक्रबार बिहान विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको उपविजेता क्याटलान क्लब सेल्टा डि भिगोको भ्रमणमा निस्कदा सेभिया र लेभान्टे तथा एथ्लेटिको बिल्वाओ र काडिजबीच पनि प्रतिस्पर्धा हुँदैछ । सेल्टा र बार्सिलोनाबीचको खेल एवान्का बालाइडोस भिगोमा नेपाली समयअनुसार राति १ः१५ बजे हुनेछ । तीन खेल सम्म अपराजित रहेको सेल्टा घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै कम्तीमा पनि अर्काे राउन्ड सम्मको लागि शीर्षस्थानमा उक्लले दाँउमा हुनेछ । तीन खेलबाट ५ अंक जोडेको सेल्टाले बार्सिलोनालाई हराउन सके ८ अंक जोड्दै शीर्षस्थानमा रहेका गेटाफे, भ्यालेन्सिया, रियल म्याड्रिड र भिल्लारियललाई एक अंकले पछि पार्नेछ । सेल्टा यही लक्ष्यमा हुनेछ ।

सेल्टाको यो लक्ष्यमा इगो आस्पास, सान्टी मिना, रेनाटो टापिया, डेनिस सुआरेज, नोलिटो, फ्रान बेल्ट्रान, लुकास ओलाजा, ह्युगो मालो र गोलरक्षक इभान भिल्लार हुनेछन् । तर, बार्सिलोनाविरुद्धको खेल सेल्टालाई कठिन नै हुनेछ । यता, सुपरस्टार लियोनेल मेस्सी सम्मिलित बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहँदा सेल्टालाई उसकै मैदानमा पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पहिलो खेलमा भिल्लारियलमाथि ४–० को सहज जित निकालेको बार्सिलोना सोही प्रदर्शनलाई सेल्टाविरुद्धको खेलमा पनि निरन्तरता दिने दाउमा हुनेछ ।
बार्सिलोनासँग कप्तान मेस्सीसँगै युवा प्रतिभा अन्सु फाती, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, सर्जियो रोबर्टाे र गोलरक्षक नेटो हुनेछन् । यस्तै औसमाने डेम्वेले, पेड्री, मिरालेम प्यानिच र ट्रिन्काओले पनि सेल्टाविरुद्धको खेलमा मौका पाउन सक्नेछन् ।

यि दुई टोली हालसम्मा १८ पटका आमने सामने हुदा बार्सिलोनाले ९ खेल आफ्नो पक्षमा पारेको छ । चार खेल सेल्टाले जित्दा ५ खेल बराबरीमा सकिएको छ । गत सिजनको दुई खेलमध्ये एक खेलमा बार्सिलोना ४–१ ले विजयी हुँदा अर्काे खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । त्यसअघि ५ मे २०१९ को ला लिगामा सेल्टाले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया