ज्येष्ठ नागरिक बोझ होइनन्

जसरी बालबालिका भविष्यका कर्णाधार हुन्, त्यसरी नै वृद्धवृद्धा जीवित इतिहास हुन् । वृद्धवृद्धाको अनुभवले भावि पुस्तालाई मार्गदर्शन गराउँछ । आफूभन्दा ठूलाबाट पाउने मायाममता बालबालिकाको खुसीको मुख्य आधार हो भने आफूभन्दा सानाबाट पाउने सम्मान वृद्धवृद्धाहरूको खुसी हुने तथा जीवन जिउने आधार हो । वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भन्ने प्रचलन पनि छ । अग्रजहरूको सम्मानका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखका दिन विश्वव्यापी रूपमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको छ । नेपालमा पनि आज बिहीबार विभिन्न कार्यक्रम गरी ३०औँ ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कार हामी नेपालीको परापूर्वकालदेखिकै हो ।

हाम्रो संस्कार भनेको संयुक्त परिवारको हो । हजुरबुबा–हजुरआमादेखि नाती–नातिनासम्म एउटै परिवारमा बस्ने संस्कार हो हाम्रो । यही संस्कारका कारण पनि हाम्रो परिवारमा तथा हाम्रो समाजमा ज्येष्ठ नागरिकहरूको सम्मान अत्यन्त उच्च छ । सम्पत्ति तथा पारिवारिक खटनपटनको स्वामित्व नै ज्येष्ठ नागरिकको हातमा रहने हाम्रो परम्परा हो । हाम्रो परम्परालाई एकल पारिवारिक संस्कारमा पुगिसकेका पश्चिमा मुलुकहरूले समेत अत्यन्त सराहना गर्छन् । अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य किन पनि हो भने एकातिर ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक एवं अमूल्य सम्पत्तिका रूपमा रहेका छन् भने अर्कातिर हाम्रो यो आदर्श संस्कृतिलाई अनुसरण गर्नुपर्छ भन्ने पक्षमा पश्चिमा राष्ट्रहरू समेत पुगेका छन् ।

विगत केही दशक यता हाम्रो समाजमा ज्येष्ठ नागरिकको हैसियत तथा सम्मानमा कमी हुँदै आएको छ । त्यसका निश्चित कारणहरू छन् । दुष्ट सन्ततीहरूको त कुरै नगरौँ । मन हुनेले पनि आफ्नो परिवारका ज्येष्ठ सदस्यहरूको उचित रेखदेख गर्न सकेका छैनन् । हिजो कृषिप्रधान समाज थियो । कृषिका लागि ज्येष्ठ नागरिकको अनुभव र मार्गदर्शनको विशेष महत्व हुन्थ्यो, ज्येष्ठ नागरिकका लागि उत्पादनमूलक श्रम गर्ने ठाउँ थियो ।

सम्पत्तिको निर्विकल्प माध्यम मानिने जग्गा जमिनको स्वामित्व ज्येष्ठ नागरिकको हातमा हुने भएका कारण उनीहरूको उचित रेखदेख गर्नु परिवारका अन्य सदस्यका लागि वाध्यता पनि थियो । तर, आज कृषिको प्राधनता रहेन । सन्ततीहरू रोजगारीका लागि आफ्नो थातथलो छाडेर सहर पस्न वाध्य भए । उत्पादनका लागि भूमीको भन्दा श्रम र पूँजीको महत्व बढेर गयो । जसका कारण ज्येष्ठ नागरिकहरू आफ्नै घरमा अलपत्र परेका छन् । हिजोसम्म जेष्ठ नागरिकहरूको रेखदेखको दायित्व परिवारमा मात्रै सीमित थियो भने अब राज्यले पनि दायित्व लिनुपर्ने युग आएको छ । ०५१ सालदेखि ज्येष्ठ नागरिकप्रतिको दायित्वमा राज्य पनि प्रत्यक्ष संलग्न भएको छ ।

ज्येष्ठ नागरिकहरूलाई मासिक रूपमा सय रुपैयाँ प्रदान गर्ने गरी थालनी गरिएको सामाजिक सुरक्षा कार्यक्रम बिस्तार हुँदै गएको छ । सामाजिक सुरक्षा भत्ताका अतिरिक्त औषधि उपचार निःशुल्क रूपमा गरिदिने, यातायतका साधनमा आधा मात्रै भाडा लाग्ने लगायतका सुविधाहरू राज्यले ज्येष्ठ नागरिकका लागि प्रदान गरेको छ । मासिक रूपमा उपलव्ध गराइने भत्ता रकम नगन्य भए पनि राज्यको अर्थतन्त्र बलियो भएको दिन अवश्य पनि उचित भत्ता उपलव्ध हुन्छ भन्ने कुरामा ज्येष्ठ नागरिक आशावादी छन् । तर जीवन निर्वाह भत्ता मात्रै सबै थोक होइन । ज्येष्ठ नागरिकका लागि आदर तथा सम्मानको त्यतिकै खाँचो हुन्छ ।

दोस्रो कुरा शारीरिक तथा मानसिक रूपमा सक्षम भएसम्म उत्पादनमूलक काममा जुट्ने लोभ सबैलाई हुन्छ । कुनै न कुनै रूपमा उत्पादनमुलक काममा व्यस्त रहने अवसर ज्येष्ठ नागरिकहरूले पाउने हो भने मुलकलाई दोहोरो फाइदा हुन्छ । एकातिर उत्पादन बढ्छ भने अर्कातिर ज्येष्ठ नागरिकहरूले आफू बोझ भएको महसुस गर्दैनन् । आँफू कसैका लागि बोझ भएको महसुस ज्येष्ठ नागरिकले नगर्ने अवस्थाको निर्माण नै बास्तवमा उनीहरूप्रतिको सम्मान हो ।

प्रतिक्रिया