आइपिएलको सट्टा खेलाउने तीन जना पक्राउ

विराटनगर । क्रिकेटको चर्चित टी–२० श्रृंखला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइनमार्फत बोलकबोल गराइ सट्टेबाजी खेलाउने तीन जना पक्राउ परेका छन ।  अनलाइनमार्फत जुवा वा सट्टेबाजी खेलाउने कार्य भइरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका– १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाइल फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइन सट्टेबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  यसैगरी अनुसन्धान गर्दा अरु पनि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानवबहादर राईले जानकारी दिएका छन् । राईले भने, ‘उनीहरुविरुद्ध जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।’

साहसँगै पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – १७ रानी बस्ने वर्ष ४२ को जगदिश साह र सोही ठाउँका वर्ष ३८ का बैजनाथ साह रहेका छन् ।  प्रहरीले सत्यजित साहको साथबाट निलो रंङको सामसुङ कम्पनीको मोबाइल, नेपाली दरका विभिन्न रुपैयाँ . ६० हजार र एक थान ल्यापटप बरामद गरेको छ ।

जगदिश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल र आर –१५ मोटरसाइकल तथा बैजनाथ साहको साथबाट पनि मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । दुबइमा जारी आईपीएल खेलमा क्लबहरुको जित–हारको विषयमा रकम बोलकबोल गरी सट्टेबाजी गर्ने गरिएको डीसपी राईले बताए ।

प्रतिक्रिया