भोलिबाट पोखरा–दिल्ली बस सेवा सञ्चालन हुने

कास्की । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा (भोली) असोज १५ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा सुरु गर्न लागिएको जनाएको छ ।

पोखरादेखि नेपाल भारत सीमासम्म उक्त प्रालिअन्तर्गतको बसले यात्रुलाई पुर्याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पुर्याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवा अन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले जानकारी दिए । पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ ।

अधिकारीले भने, ‘नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारिपारि गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सिधा–सिधा सञ्चालन गर्छौँ ।’

दशैँ तिहारलगायत चाडपर्व नजिकिरहेको र पेशाव्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा सुरु गरिएको हो । विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकोमा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोडर्न इराले १४ वर्र्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच दुई देशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो ।

प्रतिक्रिया