मनुजको ‘एकलानुभूति’ सार्वजनिक

काठमाडौं । कलाकार तथा साहित्यकार स्व. मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक भएको छ । उनका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’ मा समेटिएको छ । झण्डै ३० वर्ष काठमाडौंको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवं साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबुका निबन्ध संग्रह मंगलबार सार्वजनिक गरिएको हो । मिश्रका विभिन्न निबन्ध संग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक आएको न्यौपानेले बताए । उनले भने, ‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यंग्य पाइन्छ ।’ न्यौपानेले मनुजबाबुको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ रहेको बताए । उनले भने, ‘जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पु¥याउँछन् ।’

मनुजबाबु एक परिचित नेपाली निबन्धकार तथा कलाकार रहेको प्रा.डा. अभि सुवेदीले बताए । उनले भने, ‘उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ । एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन् ।’ उनले मनुजबाबुका कलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको बताए । उनले भने, ‘मनुजबाबुले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको छ ।’

प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले नेपालका प्रसिद्ध कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय रहेको बताए । उनले मनुजबाबुका चित्रकला जति जीवन्त छन्, निबन्ध पनि उत्तिकै प्रभावशाली र भावप्रधान रहेको जिकिर गरे । भारीले भने, ‘मिश्रले भोगको समाज, त्यति बेलाको विश्व एवं विविध विषयलाई अहिलेको पुस्ताले पढ्नुपर्छ भनेर यो पुस्तक प्रकाशनमा ल्याएका हौं ।’

कलाकार मनुजबाबुका छोरा कलाकार रोशन मिश्रले बुवाका कला र चिन्तनलाई बुझ्नलाई यो संग्रहले सघाउँ पु¥याउँछ । उनले भने, ‘आफ्नो व्यक्तित्व, चरित्र, चिन्तन तथा आफूले देखेभोगेका विषय कलामा जस्तै लेखनमा सशक्त रुपमा झल्किएको पाइन्छ ।’  रोशनले बुबाले नेपाली कला तथा साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएको बताए । उनले भने, ‘बुबाको चित्र र व्यंग्य उहाँको कुची र कलम नबुझी व्याख्या गर्न र बुझ्न असम्भव नै होला । बुबाको सोच र चिन्तन कसरी शब्दले बुनिन्थ्यो र चित्रमा उतारिन्थ्यो भन्ने कुराको हेक्का ‘एकलानुभूति’ निबन्ध संग्रहले पाठकहरुलाई पक्कै दिनेछ भन्ने विश्वास लिएको छु ।’ मिश्रले कला इतिहास, कला समीक्षा, निबन्ध, उपन्यास र बालसाहित्य लगायतका डेढ दर्जन बढी पुस्तक प्रकाशित छन् । कलाकार मनुजबाबुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएका छन् ।

प्रतिक्रिया