निर्माण सम्पन्न नजिक पोखरा रंगशाला

पोखरा । निर्माणाधीन पोखरा रंगशालाको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत पूरा भएको छ । करिब एक अर्ब २८ करोड ५० लाख रुपैयाँमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सकिएको हो ।  माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही काम रोकिएको बताए ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनको भनाइ छ । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रंगशाला निर्माणमा २० नेपाली कामदारले काम गरिरहेको पनि उनले जानकारी दिए ।

चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उनले बताए । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी छ । स्टेडियमको चारैतिरको पिच निर्माणधीन अवस्थामा छ । यस्तै १७ वटा शौचालय निर्माण पूरा भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी छ । मंसिर १५ देखि २४ गतेसम्म जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रंगशालामा भएका थिए ।

प्रतिक्रिया