विद्यार्थी अभिलेखीकरणका नाममा अभिभावकबाट शुल्क नलिन निर्देशन

कावासोती । शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले विद्यार्थी अभिलेखीकरणका नाममा अभिभावकबाट कुनैपनि शुल्क नलिन विद्यालयहरुलाइ निर्देशन दिएको छ । सरकारले हालै जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ को बिधि र मर्म विपरीत विद्यालयहरुले शैक्षिक गतिविधि सन्चालन गरि अभिभावकबाट विभिन्न बहानामा शुल्क उठाएको भन्ने गुनासो बढेको भन्दै इकाईले पत्रमार्फत जिल्लाका सबै विद्यालयहरुलाइ यस्तो निर्देशन दिएको हो ।

सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ ले निर्दिष्ट गरेका बिधिबाट मात्रै सिकाइ सहजीकरण सन्चालन गर्न र निस्शुल्क विद्यार्थी अभिलेखीकरण गर्न इकाई कार्यालयले विद्यालयहरुलाइ निर्देशन गरेको छ ।

त्यस्तै संस्थागत विद्यालयहरुले सिकाइ सहजीकरण र भर्ना अभिलेखीकरणका नाममा नियम बिपरित शुल्क लिएको भन्ने गुनासो आएकोले बैकल्पिक सिकाइ अबलम्बन गर्दा सम्बन्धित निकायको लिखित स्वीकृति अनुसार तोकेबमोजिम बाहेकको शुल्क नलिनका लागि समेत निर्देशन दिएको छ ।

पछिल्लो समय सिकाइ सहजीकरण र भर्ना अभिलेखीकरणका नाममा विद्यालयहरुले विभिन्न प्रकारको शुल्क लिएको गुनासो बढेपछि शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले सोमबार जिल्ला स्थित सबै विद्यालयहरुलाइ पत्र लेखि सिकाइ सहजीकरणका सम्बन्धमा यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया