रकुल दोस्रो पटक अदालतमा

मुम्बई । अभिनेत्री रकुल प्रीत सिंहले भारतीय सञ्चार माध्यमले ‘मिडिया ट्रायल’ गरेको दावी गर्दै दोस्रो मुद्दा दायर गरेकी छन् । रकुलले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले यसअघि पनि उच्च अदालतमा मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा अन्तरिम आदेश जारी भएको थियो । अभिनेता सुशान्तसिंह राजपूत मृत्यु प्रकरणमा जोडिएको लागुऔषधमा नाम जोडिएपछि अभिनेत्री रकुलले आफ्नोविरुद्ध मिडिया ट्रायल चलाइएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै उजुरी दिएकी हुन् ।

उनले वकिल अमन हिंगोरानी, हिमांशु यादव तथा श्वेता हिंगोरानीमार्फत् मुद्दा दायर गरेकी हुन् । रकुलले उजुरीमा हैदरावादमा चलचित्रको छायांकन गरिरहेका बेला मिडियामा आएको रिपोर्ट देख्दा अचम्ममा परेको उल्लेख गरिएको छ । उनले चलचित्रको छायांकनकै बेला २३ सेप्टेम्बर सञ्चार माध्यममा आएको समाचार देखेरमात्र आफूलाई लागुऔषधबारे जानकारी भएको दाबी गरेकी छन् । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले आफूलाई पत्र पठाएकोबारे जानकारी पनि मिडियामार्फत् मात्र थाहा पाएको उनको जनाएकी छन् ।

एनबिसीले शुक्रबार उनीसँग सोधपुछ गरेको थियो । अभिनेत्री रकुलले उक्त आरोप अस्वीकार गरेकी छन् । तर, उनी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग गरिएको लागुऔषधबारेको च्याटमा भने सहभागी भएकी थिइन् । रियाले आफ्नो घरमा लागुऔषध छोडेर गएको र त्यही विषयलाई लिएर दुई जनाबीच च्याटमा कुराकानी भएको रकुलको दाबी छ ।

प्रतिक्रिया