प्याराग्लाइडिङ सेवा सुरु गर्ने तयारी

काठमाडौ । कोरोनाभाइरस महामारीका कारण सात महीनादेखी बन्द प्याराग्लाइडिङ १५ असोजदेखि सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान शुरू गरेसँगै प्याराग्लाइडिङ पनि १५ असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजदेखि व्यावसायिक रूपमा प्याराग्लाइडिङ शुरू हुने हवाई खेलकुद संस्था (नाका)का अध्यक्ष कृष्ण भण्डारीले बताएका छन ।

पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए । कोरोना जोखिमका कारण बन्द रहेका कम्पनीलाई पुनः बुकिङ शुरू गर्न दिइ सकिएको छ । पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीले बन्दाबन्दीको अवधिमा करीब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताएका छन ।

अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडान गर्ने भएका छन । शुरूआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले ३ सय भन्दा बढी नेपाली पाइलट छन । प्याराग्लाइडिङबाट करिव दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

प्रतिक्रिया