नमोवुद्धका ३ सय ६३ परिवारलाई पुनः राहत वितरण

काभ्रे । नमोबुद्ध नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गर्न सुरु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका परिवारलाई पुनः नगरपालिकाबाट राहत वितरण गर्न सुरु गरिएको हो । नमोबुद्ध ठ्राङ्गु गुम्बाको सहयोगमा आजदेखि नगरका विभिन्न वडामा राहत वितरण गर्न थालिएको हो । सोमबार पहिलो चरणमा नगरका १, ७, ८ ९ र १० नंवर वडाका १ सय ३० परिवारलाई राहत वितरण गरिएको छ । बाँकी वडामा दोस्रो चरणमा राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य स्वयंसेविकाले संकलन गरेको तथ्यांकको आधारमा राहत वितरण थालिएको नमोवुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजु बोगटीले जानकारी दिए । नगरका ११ वटै वडाका कुल ३ सय ६३ विपन्न परिवारलाई राहत प्रदान गरिनेछ । राहत प्याकेजमा ३० केजी चामल, ५ किलो दाल, २ लिटर तेल र १ प्याकेट नुन रहेको छ ।

नमोबुद्ध गुम्बामा आयोजित एक कार्यक्रमका बीच गुम्बाका अध्यक्ष लामा खाम्सुङले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई राहत प्याकेज हस्तान्तरण गरेका छन् । राहत प्याकेज हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत भोलाप्रसाद चापागाईं, सामाजिक परिचालन संयोजक श्याम खनाल लगायतको उपस्थिति रहेको थियो ।

राहत प्याकेज बुझेपछि नगर प्रमुख तिमल्सिनाले नगरपालिकाको समन्वयमा राहत उपलव्ध गराइदिने नमोबुद्ध ठ्राङ्गु गुम्बालाई आभार व्यक्त गरे । उनले राहतको पुर्ण सदुपयोग हु्ने र कोरोना महामारीका कारण समस्यामा परेका परिवारसम्म राहत पुग्ने पनि बताए । नमोबुद्ध गुम्बाका अध्यक्ष लामा खाम्सुङले विगतमा पनि गुम्बाले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।


सामाजिक सेवामा गुम्बाले नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने उनले बताएका छन्।
डेढ महिना अघिमात्रै नमोबुद्ध नगरपालिकाले सबै वडाका २ सय भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको थियो । कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेका परिवारलाई विभिन्न सहयोगी दाताहरुसँगको समन्वयमा राहत वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया