कोरोनाको कहरमा फुटपाथ पसलहरूको व्यवस्थापन

नरेन्द्रमान श्रेष्ठ

फुटपाथे पसलेहरू स्वयम्मा कोरोना संक्रमण हुने सम्भावना त देखिन्छ नै । अरूलाई पनि सार्ने सम्भावना देखिन्छ । तैपनि फुटपाथे पसले स्वयम्ले र सरोकारवालाहरूले ध्यान दिएको देखिँदैन । काठमाडौंका फुटपाथ पसल यतिबेला झन् समस्याको रूपमा देखिएका छन् ।

विश्व नै माहामारीको रूपमा फैलिएको कोरोनाले आक्रान्त भइरहेको बेला नेपाल पनि अछुतो रहन सकेन । कोरोना संक्रमण रोक्न भिडभाड गर्न नहुने, मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने भन्ने मान्यता रहेका छन् । यसले कोरोनाको कहरले केही भए पनि बचाउँछ भन्ने छ । तर, काठमाडौंको ठाउँठाउँमा भिडभाड गरी विनामास्क भौतिक दुरी कायम नगरी लाइनका लाइन फुटपाथ पसलहरू राखेको देखिन्छ । यसले कोरोनाको संक्रमण फैलिने प्रबल सम्भावना रहेको छ । यसकारण फुटपाथ पसलहरूको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । भिडभाड गरी राखेको फुटपाथ पसलहरू हटाउने अभियान नै चलाइएको पनि छ । तर सफलता हात परिरहेको छैन । फुटपाथ पसलहरू हटाउने बेला कतिपय फुटपाथ पसलेहरूसँग झगडा भएको पनि देखिन्छ । त्यसो त सिडिओले समय तोकेर फुटपाथ पसलहरू राख्न दिने भनेको कारणले पनि फुटपाथ पसल हटाउन तथा व्यवस्थापन गर्न कठिन भइरहेको सम्बन्धित सरोकारवालाहरू बताउँछन् । भिडभाड गरी अस्तव्यस्त तरिकाले फुटपाथ पसल राख्दा स्वयम् आपूmलाई र अरूलाई पनि संक्रमण हुन सक्छ भन्ने बझ्न नसकेको पनि देखिन्छ । त्यसो त फुटपाथ पसलको समस्या अहिलेको मात्र पनि होइन । विगतका दिनदेखि कै समस्या हो ।

कोरोनाको संक्रमण पैmलिन नदिन सरकारले लक डाउन पनि गरेको थियो । लक डाउनमा बिनाकाम बाहिर निस्कन नहुने र भिडभाड गर्न नहुने नियम छ । एकातिर काठमाडौंमा पनि कोरोनाको संक्रमित बढिरहेको अवस्था छ यसले कोरोना भाइरस फैलिने देखिन्छ । यसले फुटपाथे पसलेहरू स्वयम्मा कोरोना संक्रमण हुने सम्भावना त देखिन्छ नै अरूलाई पनि सार्ने सम्भावना देखिन्छ । तैपनि फुटपाथे पसले स्वयम्ले र सरोकारवालाहरूले ध्यान दिएको देखिँदैन । काठमाडौंका फुटपाथ पसल यतिबेला झन् समस्याको रूपमा देखिएका छन् ।

पछिल्लो समयमा काठमाडांै महानगर फुटपाथ पसलहरूले गर्दा सौन्दर्यविहीन हुँदै गइरहेको छ । विगतमा स्वस्थ हराभरा खुला काठमाडौं महानगर पछिल्लो समयमा अस्तव्यस्त हुँदै गइरहेको छ । विश्वमा कलाकौशल सांस्कृतिक सम्पदाले भरिपूर्ण भनेर चिनाउने गरेको काठमाडौं पछिल्लो समयमा फुटपाथ पसलको सहर भनेर चिनिन थालेको छ । काठमाडौंका टोलटोलमा सम्पदाहरू छन् तर पछिल्लो समयमा ती सम्पदाहरूमा फुटपाथ पसलहरूको अतिक्रमण बढेको छ । तर, महानगरपालिकाले फुटपाथ पसलहरू हटाउन भने सकेको छैन । महानगर कडा भएर फुटपाथ पसलहरू हटाउने कोशिस नै गरेको छैन ।

तर, यसपालि भने काठमाडौंका केही जागरुक युवाहरू महानगर र महानगर प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा कोरोनाको कहरमा पनि अव्यवस्थित रूपमा राखिएका फुटपाथ पसललाई हटाउने तथा व्यवस्थित गर्ने अभियानमा लागि परेका छन् । काठमाडौं उपत्यकामा हजारौंको सख्यामा फुटपाथ पसलहरू रहेको अनुमान छ । उपत्यकाका विभिन्न भिडभाड हुने स्थानहरू सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, नयाँ सडक, मखन, भोटाहिटी असन वंघ, पाटन, लगनखेल, कोटेश्वर, चाबहिल गौशाला, विभिन्न बसपार्कहरू र आकाशे पुलहरूमा समेत फुटपाथ पसलहरू बढेको बढेकै देखिन्छ । विश्व सम्पदास्थल हनुमानढोका दरबार स्क्वायर आदि स्थानहरूमा समेत बिहानबेलुका फुटपाथ पसलहरू राखेर यात्रुहरूलाई असुविधा पारेका छन् भने ट्राफिक जामको समस्या पनि पारेका छन् । फुटपाथे व्यापारीहरूका कारण सम्पदास्थल नै कुरुप बनेका छन् ।

देशमा नेताहरूको सम्पत्ति बढेजस्तै महँगी बढेजस्तै, भ्रष्ट्राचार अनिमियता बढेजस्तै, सांसद जनप्रतिनिधिहरूको तलब भत्ता बढेजस्तै, देशको ढुकुटी स्वाहा गर्ने प्रवृत्ति बढेजस्तै, नेताहरूले फटाहाफटाहा भाषण गर्ने क्रम बढेजस्तै, कोरोना संक्रमित बढेजस्तै फुटपाथ पसलहरू बढिरहेका छन् । नेपालमा एउटा उखान छ, ‘जहाँ गाडी नहीँ पहुचा वहाँ …… पहुचा’ भने जस्तै फुटपाथ पसल–व्यापारीहरू जहाँतहीँ पुगिसकेका छन् । महानगरका बजार, सडक, सम्पदास्थलहरूमा मात्र नभई पार्क, बसपार्क मानिसहरूका लागि बाटो काट्न बनाइएका आकाशे पुलहरूमा महानगरको सडक पेटी, बजार, मन्दिर–मन्दिर, गल्ली–गल्लीमा समेत पसल राख्न भ्याइसकेका छन् फुटपाथे व्यापारीहरूले । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य समयसमयमा फुटपाथ पसल व्यवस्थित गर्छु भनेर तम्सिन्छन्, तर जहिले पनि ‘टाँय टायँ फिस्स’ भनेजस्तै मात्र भइरहेका छन् । महानगरका पदाधिकारीहरू फुटपाथ पसल व्यवस्थित गर्न चाहिरहेका छैनन् भन्ने महसुस हुन थालेको छ । महानगरका कतिपय प्रहरीहरू र फुटपाथ व्यापारीहरूबीच तालमेल, लेनदेनसमेत भएको पनि अनुमान गरिएको छ । महानगरका प्रहरी र फुटपाथका व्यापारीबीच चोरपुलिसको खेलजस्तै भइरहेको पनि बताउँछन् कतिपय सरोकारवालाहरू । काठमाडौं महानगरका प्रहरीहरूले फुटपाथ पसलहरू हटाउने गरेता पनि म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भन्नेजस्तो मात्र भइरहेको महसुस सर्वसाधारणले गरेका छन् ।

उपत्यकामा जनसंख्याको चाप बढ्दै छ । देशको राजधानी भएको कारणले देशका विभिन्न स्थानहरूबाट विभिन्न कारणले मानिसहरू उपत्यका प्रवेश गर्ने गरेका छन् । पछिल्लो समयमा त देशका विभिन्न स्थानहरूबाट मात्र नभइ विदेशीहरू पनि उपत्यकामा आएर फुटपाथ पसलहरू राखेर व्यापार गरिरहेका छन् । तर, राज्यले भने आँखा चिम्लीरहेको छ । देशका विभिन्न स्थानहरूबाट राजधानी छिर्नेहरूका लागि त फुटपाथमा पसल राखेर व्यापार गर्नु रोजगारीको माध्यम बनिरहेको छ । कम पुँजी भए पुग्ने, भाडा तिर्न नपर्ने, व्यापार पनि मनग्य हुने आदि कारणले फुटपाथ पसलहरू बढिरहेका हुन् । तर, रोजगारीका लागि भनेर अरूलाई असुविधा र समस्या हुने गरी जहाँतहीँ व्यापार गर्न हुँदैन । त्यसो त फुटपाथमा पसल राखेर व्यापार गर्नेले सरकारलाई राजस्व पनि बुझाएका छैनन् । फुटपाथका व्यापारीहरूले न आय कर तिर्नुपर्छ न भ्याट नै तिरेका छन् । न घरबहाल कर नै तिर्नुपर्छ, न प्यानमा नै दर्ता भएका छ । फुटपाथ व्यापारको कारणले राज्यलाई पनि नोक्सान भइरहेको छ ।

भिडभाड हुने व्यस्त सडक, बजार चोकहरूमा पसलहरू राखेर व्यापार गर्ने हुनाले फुटपाथ पसलले बटुवाहरूलाई ठुलै समस्यामा पारेका हुन्छन् । मानिसहरू हिँड्ने स्थानमा फुटपाथमा पसल राखेर व्यापार गर्नाले बुटवाहरू गाडी गुड्ने सडकबाट हिँड्न परिरहेको छ । यसले ट्राफिक र दुर्घटना बढाएको छ । कतिपय अवस्थामा बटुवाहरू र फुटटपाथे व्यापारीबीच ठाकठुक भनाभनसमेत हुने गरेको छ । आकाशे पुलहरूका फुटपाथ पसल झन् समस्या बनेका छन् । फुटपाथ पसलको समस्या राजनीतिक पनि हो । पछिल्लो समयमा राजनीतिकदलहरूका गतिविधि राजधानि केन्द्रित भइरहेका कारणले पनि उपत्यकामा जनसंख्याको चाप बढिरहेको छ । कतिपय राजनीतिक कार्यकर्ताको रूपमा राजधानी छिरेकाहरूका लागि रोजगारीको सजिलो माध्यम भनेको फुटपाथ व्यापार नै हो भन्दा पनि फरक नपर्ला । यसकारणले पनि राजनीतिकदलहरू फुटपाथ पसलहरूलाई हटाउन त्यति चासो दिँदैनन् ।

उपत्यकाका सहर, बजार, सडक, चोक अतिक्रमण गरी आवतजावत गर्नेलाई असुविधा पु¥याउनु अर्घेल्याइँ हो । शहर बजार नै अस्तब्यस्त कुरूप देखिने गरी जहाँतहीँ जथाभावी फुटपाथ पसल राख्ने प्रवृत्ति नियन्त्रण गर्नु जरुरी छ । सहरलाई व्यवस्थित गर्ने पहिलो जिम्मवारी भनेको महानगरपालिकाको हो । यस अभियानमा स्थानीयवासीहरूले पनि आपूmले सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । तैपनि कतिपय स्थानीय संघसंस्थाहरूले क्लब टोल सुधार समितिहरूले नै केही रकम लिई फुटपाथ पसल सञ्चालन गर्न दिइरहेका छन् । यसले पनि फुटपाथ पसलहरू हटाउन नसकिएको हो । स्थानीय तह भनेको स्थानीय सरकार हो स्थानीय सरकारको काम फुटपाथ पसलहरूलाई पनि व्यवस्थित गर्ने हो । अहिले कोरोनाको कहरमा फुटपाथ पसलहरूको बारेमा गम्भीर भएर काठमाडौं महानगरपालिका लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया