कोरोनाले ओझेलमा चाडवाड

चमिना भट्टराई

विश्वभर फैलिएको कोराना भाइरसका कारण नेपालका गएको ६ महिनामा आधादर्जन बढी चाडवाड ओझेलमा प¥यो । मान्छे मान्छे देखेर डराउनुपर्ने अवस्थामा अहिले पनि छ । लक डाउन र निषेधाज्ञा हटाइए पनि त्रास भने बाँकी नै छ । नजिकिँदै गरेको महान पर्व दसैँ पनि कोरोनाका कारण छायामा पर्ने प्रष्ट नै छ । गएको चैतको पहिलो सातादेखि नेपालमा कोरोनाको प्रभाव परेको हो । यो बीचमा नेपालीका सानाठूला गरेर धेरै पर्व परे । तर, कुनै पनि पर्व गएका वर्षहरूमा जस्तो उल्लासमय भएन ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि लक डाउन सुरु भएकै दिन ०७६ चैत ११ मा घोडेजात्रा परेको थियो । काठमाडौं उपत्यकामा मनाइने घोडेजात्राकै दिन कोरोना भाइरस फैलन नपाओस् भनेर सरकारले लक डाउन गरेको थियो । सो लक डाउन लामो समयसम्म झेल्नुप¥यो नेपालीले । अहिले पनि लक डाउन नभए पनि मान्छेको मन मष्तिस्क भने डाउनकै अवस्थामा छ ।  लक डाउनले गर्दा गएको चैतेदसैँ पनि राम्रोसँग मनाउन पाएनन् । चैतेदसैँलाई सानो दसैँका रूपमा पनि मनाउने गरिन्छ । तर, गत वर्षको चैतेदसैँ कोरोनाकै कारण छायामा प¥यो । यसलाई मनाउने भन्दा पनि कसरी कोरोनाबाट जोगिने भन्ने त्रासमा परेका नेपाली त्यसयता भएका सबै जस्तो पर्व बिर्से जत्तिकै गर्न बाध्य छन् ।

यसैगरी नेपालीको नयाँ वर्ष (वैशाख १) पनि त्यतिकै गयो । नयाँ वर्षको पहिलो दिनले वर्षभरिको अवस्थाको संकेत गर्छ भन्नेहरू पनि छन् । तर, नयाँ वर्ष पनि कोरोनाका कारण मनाउन पाएनन नेपालीले । स्वदेश वा विदेशमा बस्ने हरेक नेपालीका लागि नयाँ वर्ष उत्तिकै महत्वमा हुने गथ्र्यो । आफूसँग भएको मिठोमसिनो खाएर अफन्तका बीच शुभकामना साटासाट गरी मनाइने यो पर्व घरभित्रै सीमित भयो ।  संस्कृतिक रूपमा महत्व बोकेको गाइजात्रा योपटक कोरोना जात्रामा सीमित भयो । खास गरी उपत्यकाका तीन जिल्लामा मृतआत्माको शान्तिका लागि निस्कने गाईजात्रा पनि घरभित्रै सीमित रह्यो । राजधानीका गल्लीगल्लीमा न गाईको प्रतिमूर्ति सिंगारिएको देखियो न जात्रा नै । गाइजात्रा जस्तै इन्द्रजात्रा पनि यो वर्ष कोरोनाले ओझेलमा पारिदियो । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइयो तर जात्रा भएन ।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआराधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरूमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्थ्यो । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले इन्द्रजात्राको उल्लास देखिएन ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्थ्यो । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष वसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहिआएको थियो ।

पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको सम्बन्धलाई उजागर गरेको जानकारहरू बताउँछन् । तर, यी धार्मिक महत्व बोकेको पर्व ओझेलमा पारिदियो कोरोनाले । यही बीचमा जनै पूर्णिमा पनि परेको थियो । तर, जनै पूर्णिमा र तीजले त लक डाउन मात्रै होइन, निषेधाज्ञाको समेत सामना ग¥यो । नेपाली नारीहरूको महान पर्व भनिने तिजमा कहीँ कतै त्यसको रौनक देखिन पाएन । यसको कारण पनि कोरोना नै रह्यो । अझ पछिल्लो समय सबैभन्दा लामो समय तिज मानिन थालिएको थियो । यसलाई कतिले संस्कृतिको नाममा विकृति भनेर आलोचनासमेत गर्न थालेका थिए । कतिपयले यसलाई राम्रो भनेर प्रतिक्रिया दिएपनि तिजको रौनकलाई भने कोरोनाले ओझेलमा पारेको पक्कै हो ।

नेपालीको महान पर्व दसैँको सुरुआतका रूपमा लिइने सोह्रश्राद्ध त कतिले भर्चुअल गरे । पितृलाई सम्झने र उनीहरूप्रति श्रद्धा गरिने समयमा पनि नेपालीले ढुक्कसँग पितृलाई सम्झन पाएनन् । १६ दिनसम्म चल्ने सोह्र श्राद्धलाई पनि कोरोनाले कब्जामा लियो । कति नेपालीले त कोरोनाले जोगाए अर्कोसाल पितृलाई सम्झुलासमेत भनेको पाइयो । जीवित भएका बेलामा गर्नुपर्ने स्याहारसुसार नगरेका छोराहरूले पनि यस सोह्र श्राद्धमा पितृलाई तर्पण र पिण्ड दिने गर्छन् ।

यही बीचमा कैयौँ राष्ट्रिय तथा अन्तर्राट्रिय दिवस परे, कैयौँ प्रख्यात व्यक्तिहरूको जन्मजयन्ती तथा स्मृति दिवस परे । तर, सबै फिक्काजस्तै भयो । धेरै जस्ता बैठक र कार्यक्रम भर्चुअल (अनलाइन) का माध्यमबाट भए भने कतिपय अहिले पनि हुँदै आएका छन् । थाहा छैन कोरोनाले अझै कति यस्ता पर्व र महत्वपूर्ण दिन मनाउन नदिने हो । अहिलेकै गतिमा कोरोना वृद्धि हुँदै जाने हो भने अझै कति समय नेपालीले ढुक्कसँग आफन्तसँग बसेर भलाकुसारी गर्दै मिठो मसिनो खान पाउने छैनन् ।

अब नेपलीकासामु महत्वपूर्ण पर्व दसैँ आउँदै छ । त्यसपछि लगत्तै तिहार । मलमास नपरेको भए यतिबेला नेपाली दसैँ मनाउँदै हुने थिए । तर, न त अहिलेसम्म नेपालीलाई दसैँ नजिकिँदै छ भन्ने आभास भएको छ न बजारमा त्यसको चहलपहल देखिन्छ । अन्य वर्षहरूमा यतिबेला दसैँका कारण बजारमा घुइँचो हुनेगथ्र्यो, लामो दुरिका बसमा टिकट लिनेको लामो लाम लाग्थ्यो । अहिले भने त्यसको कुनै रौनक छैन । मान्छेमा कोरोनाका कारण मरिन्छ कि भन्ने त्रासले यी सबै चाडवाडहरू ओझेलमा परेका छन् र बाँकी पनि नपर्लान् भन्न सकिने अवस्था छैन ।

हाम्रा सबै पर्वहरूले कुनै न कुनै महत्व बोकेका छन् । मान्छेको बीचमा वर्षांै भेट नभएका पनि यही मौकामा भेट हुने, देश विदेशबाट आफन्तसँग आशीर्वाद लिन र दिन जमघट हुने अवसर खोस्दै छ कोरोनाले । यति बेला दसैँको रौनक नदेखिनुमा कोराना भाइरस र त्यसले लामो समयदेखि पारेको आर्थिक असर पनि हो । यति बेला धेरैजसो नेपालीले भने पनि न भने पनि दुई छाक टार्न मुस्किल हुँदै गएको छ । मान्छेको रोजगारी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । यस्तो अवस्थामा कसरी खुलेर पर्व मनाउन सकिएला ? पहिलो कुरो बाँच्ने र दोस्रो कुरो छाक टार्नु हो, यी दुवै कुराले मान्छेमा चिन्ता छ । बाँच्ने कसरी अनि छाक टार्ने के ले ?

नेपालीका लागि यति लामो त्रास पहिलोपटक होला ! एउटै समस्याले यति चाडवाड बिथोलिएको । अनि मान्छेका गरिखाने बाटो बन्द भएर पिरोलिएको । हामीले जस्तै विश्वका सबैजसो देशले कोरोनाको संकट झेल्दै छन् र केहीले झेलेर पनि सामान्य बन्दै छन् । हामीले भने कहिलेसम्म यसको सामना गर्नुपर्ने हो, प्रश्न मात्रै छ त्यसको जवाफ छैन ।

प्रतिक्रिया