रिलिज तयारीमा ‘गुञ्जन’

काठमाडौं । प्राविधिक कामको अन्तिम चरणमा रहेको चलचित्र ‘गुञ्जन’ कोरोना कहर कम भएपछि रिलिज गर्ने तयारी छ । सरकारले प्रायः क्षेत्रमा लगाएको प्रतिबन्ध हटाए पनि चलचित्र क्षेत्र भने खुलाएको छैन । चलचित्रकर्मीले सरकारसँग प्रतिबन्ध हटाएर चलचित्र प्रदर्शन गर्नुपर्ने धारणा राखिरहेका बेला ‘गुञ्जन’ को काम अन्तिम चरण पुगेको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्देशक अष्ट महर्जनले सरकारले चलचित्र रिलिजको वातावरण बनाउनुपर्ने माग गरे । उनले सरकारले वातावरण बनाए ‘गुञ्जन’ रिलिज गर्ने तयारीमा आफूहरु रहेको बताए ।
द्वन्द्वबाट निर्देशनमा हालेका महर्जनले अहिले चलचित्रको प्राविधिक कार्यको अन्तिम चरणमा रहेको जानकारी दिए । उनले भने, ‘कोरोनाको त्रास घटेपछि फिल्म रिलिज गर्नेछौं । अहिले भने गुञ्जनको प्रचारको तयारीमा जुटिरहेका छौं ।’ उनले केही दिनभित्रै टिजर सार्वजनिक गरेर चलचित्रको प्रचार थाल्ने बताए ।

उनले भने, ‘फिल्म रिलिज यो दिन हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । प्रचारप्रसार गर्दै ग¥यो भने सहज वातावरण हुनेबित्तिकै फिल्म रिलिज गर्न मिल्छ ।’ निर्देशक महर्जनले चलचित्र विशुद्ध प्रेमकथा र एक्सन प्रधान रहेको सुनाए । चलचित्रमा अभिनेता प्रितमराज सेन्चुरी, अभिनेत्री सारा सिर्पाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको यो चलचित्र एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको समेत आइटम डान्स रहेको छ । यस चलचित्रमा अभिनेत्री नीता ढुंगानाले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

प्रतिक्रिया