गुरुकुलीय शिक्षा र वर्तमान समस्या

हरिलाल पौडेल

संस्कृत शिक्षा
‘संस्कृत’को अर्थ संस्कार गरिएको भन्ने हुन्छ । विश्वमा सबैभन्दा पुरानो भएर पनि परिष्कृत र परिनिष्ठित एवम् वैज्ञानिक भाषा संस्कृत हो । पूर्वीय वाङ्मयमा रहेको अथाह ज्ञानराशि सिक्ने सिकाउने माध्यम हो संस्कृत भाषा । वर्तमानमा नेपाल र भारत मात्र होइन जर्मनी, बेलायत, अमेरिका आदि देशमा समेत संस्कृत शिक्षालाई महत्त्व दिइएको पाइन्छ । संस्कृत शिक्षा आर्जन गर्ने स्थान अनेक छन्, जसमध्ये गुरुकुल पनि एक हो ।

गुरुको कुललाई गुरुकुल भनिन्छ । ‘कुल’को अर्थ वंश र घर यी दुई छन् र यस सन्दर्भमा दुवै अर्थ उपयुक्त छन् । गुरुको घरमा गएर पढ्ने प्राचीन परिपाटी हो । यसरी गुरुको घरलाई गुरुकुल भन्ने गरिएको पाइन्छ । वनवासी तपस्वी गुरुको साथमा गएर ज्ञान सिकिन्थ्यो । यस सन्दर्भलाई पकड्न कुलको अर्थ आश्रय हुन्छ । गुरुशिष्यबीचको अनुशासन, मर्यादा र भक्तिले ओतप्रोत भएको परम्परा वा वंशलाई पनि गुरुकुल भनिन्छ । गुरुले खोलेका आश्रममा गई छात्रहरूले वेद, पुराण, उपनिषद्, दर्शन, व्याकरण, ज्योतिष, धर्मशास्त्र, वास्तुशास्त्र, आयुर्वेद आदिको अध्ययन गर्ने र सर्वोत्कृष्ट शिष्यले पछि गुरुको कार्यलाई निरन्तरता दिने भएकाले त्यस्तो आश्रमलाई गुरुकुल भनिन्छ ।

पूर्वीय परम्परामा गुरु र गुरुकुलको अत्युच्च गरिमा छ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका साक्षात् प्रतिमूर्ति मान्ने र गुरुको आज्ञा पालना गर्ने परिपाटी यहाँ छ । गुरुकुलमा गुरु नै कुलपति हुुन्छन् । गुरुकै आज्ञा सर्वथा लागु हुन्छ, जहाँ सरकारको निर्देशनसमेत प्रभावहीन हुन्छ । गुरुको आज्ञाविपरीत कसैले कुनै कुरा लागु गर्न सक्दैन । गुरुले पनि सर्वतोभावेन शिष्यको जीवनोद्धार गरिदिने पूर्वको गुरुकुलीय परम्परा हो ।
जुन गुरुले एक अक्षर मात्र पनि शिष्यलाई ज्ञान दिन्छन्, सिकाउँछन् भने ती गुरुलाई दक्षिणाका रूपमा दिएर ऋणमुक्त बन्नका लागि त्यस्तो कुनै पनि वस्तु पृथ्वीमा छैन । यसरी गुरुले दिने हरेक ज्ञान सूत्रात्मक र मन्त्रात्मक हुने र त्यो अमूल्य हुने भएकाले गुरुभक्ति गर्नुबाहेक त्यसको बदलामा दिने कुनै वस्तु नभएको हुँदा जीवनभर गुरुप्रति आभार प्रकट गर्ने र गुरुलाई साक्षात् ईश्वरकै प्रतिरूप मान्ने पूर्वीय दर्शनको सार हो । गुरुकुलीय परम्पराको मूल मर्म पनि यही नै हो ।

संस्कृत शिक्षा र त्यसमा पनि विशेषतः गुरुकुलीय शिक्षा एसियाकै सबैभन्दा पुरानो शिक्षा प्रणाली हो । गुरुकुलीय शिक्षाको मर्म धर्म हो, कर्तव्य हो, आचार एवम् व्यवहार हो, संस्कार हो, संस्कृति हो, माटाप्रतिको मायाममता, आफ्नो पहिचान, मर्यादा, शिष्टता, नैतिकता र धीरता हो अनि विश्वबन्धुत्व हो । गुरुकुलीय शिक्षामा नेपाली माटाको सुगन्ध छ, कोशी गण्डकी र कर्णालीको निर्मलता अनि तीव्र गति छ । यसको प्रारम्भ यतिखेरै भयो भनेर किटान गर्न सकिँदैन । यो अनादि छ । सम्भवतः मानव सभ्यताको प्रारम्भदेखि नै गुरुकुलीय शिक्षा प्रणाली चलेको थियो र त्यही शिक्षाले नै मानव सभ्यताको विकास गराएको हो । गुरुकुलीय शिक्षामा प्राचीनकालदेखि नै राजादेखि रङ्कसम्म सबैको पहुँच थियो र सबैलाई समान स्थान दिइन्थ्यो । रामायणमा भगवान् श्रीरामले वशिष्ठको आश्रममा अनि महाभारत, श्रीमद्भागवत आदिमा भगवान् श्रीकृष्णले गुरु सान्दीपनिको आश्रममा अरू सामान्य छात्रहरूसँग ऊनीहरूसरह आश्रमीय कामहरू गर्दै नीतिनियमको समेत पालना गरी बसेको र पढेको विवरण पाइन्छ । राजाका छोरा भए पनि गुरुकुलमा गएपछि भिक्षा माग्न जाने, समिधा खोज्न जाने, गोसेवा गर्ने, आश्रमीय पोसाक लगाउने र आश्रमीय भोजन गर्ने परिपाटी थियो ।।

जुन अंग्रेजी शिक्षालाई हामीले आधुनिक शिक्षा सम्झेका छौँ र हाम्रो उन्नतिप्रगतिको कारकतत्त्व सम्झेका छौँ, त्यसमा कति घोर षड्यन्त्र लुकेको छ भन्ने कमैलाई थाहा होला । अङ्ग्रेजहरूले भारतमा अनिवार्य अंग्रेजी शिक्षा थाल्दा १८३४ इ.सं मा थोमस मेकालेले आफ्नो शिक्षानीतिका माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र इस्लाम धर्ममाथि घातक आक्रमण गरेका थिए, जुन स्पष्ट त थिएन तर कूटनैतिक खालको थियो मन्द विषजस्तो । उनको शिक्षानीति लागु भएको पाँच वर्षमा उनले आफ्ना बाबुलाई लेखेको पत्रबाट यो स्पष्ट हुन्छ । उनले बाबुलाई पठाएको पत्रमा यस्तो लेखेका थिए–
‘अबदेखि अंग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन । अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् । मलाई त के विश्वास छ भने, हाम्रो शिक्षा योजना यसैगरी सफल भएर चल्यो भने, अब आजको ३० वर्षपछि बंगालका छेत्री–बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन । यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरूले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ । यो कुराले म कस्तो गदगद भएको छु !’

भनिन्छ, मेकालेले बेलाइती संसद्मा (२ फरबरी १८३५) मा सम्बोधन गर्दै आफूले भारतवर्षमा कतै पनि चोर र माग्नेहरू नदेखेको, त्यहाँका मान्छे उच्च नैतिकतावान्, सच्चरित्र भएको चर्चा गर्दैैै त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई तहसनहस पारेर त्यसका ठाउँमा आफूहरूको शिक्षानीति नलादिएमा त्यहाँ दिगो शासन गर्न नसक्ने कुरा बताएका थिए । पूर्वीयहरूको आत्मसम्मान र जातीय संस्कृति नष्ट गरी आफ्नो इसारामा चल्ने बनाउन त्यहाँको गुरुकुलीय शिक्षा प्रणाली ध्वस्त पारी पाश्चात्य प्रणालीको शिक्षानीति लाद्नुपर्ने र त्यसैका माध्यमबाट पूर्वीयहरूलाई आफ्नो धार्मिक आस्थादेखि विमुख बनाउनुपर्ने विचार उनले प्रकट गरेका थिए । आज आएर मेकालेका मानसपुत्रहरू नेपालमा परम्परागत रूपमा चल्दै आएका र नेपाली धर्मसंस्कृतिका आधारस्तम्भ बनेका गुरुकुलहरूमा विज्ञानलगायतका आधुनिक विषयहरू पढाइनुपर्छ भनेर मेकालेकै अभीष्ट पूरा गर्न खोज्दै छन् ।

गुरुकुलका नीतिनियम, आचरण, व्यवहार, पोसाक, भाषाशैली, दिनचर्या र आहार–विहार तोकिएबमोजिम हुन्छन् । यस विषयमा केही कुरा गुरुकुल स्थापना गर्ने व्यक्तिहरू वा संस्थापक, त्यसको प्रकृति र प्रयोजन अथवा उद्देश्यमा निर्भर हुन्छ । जस्तै, कुनै गुरुकुलमा विशिष्टाद्वैत दर्शन र तत्सम्बद्ध आचार–विचार, विश्वास, अनि दिनचर्यामा बढी जोड दिइएको हुन्छ भने कुनै गुरुकुलमा अद्वैत दर्शन र तत्सम्बद्ध आचार–विचार, विश्वास अनि दिनचर्यामा जोड दिइन्छ । त्यस्तै अन्य केही सामान्य गुरुकुलमा समग्रतामा वैदिक सनातन धर्मसंस्कृतिको पहिचान गराउने मात्र लक्ष्य राखिएको हुन्छ ।

माथिको शीर्षकमा चर्चा गरेअनुसार गुरुकुल स्थापना गर्नुको उद्देश्य बालकलाई स्वत्वको पहिचान गराई आफ्नो धर्मसंस्कृति, संस्कार, आचार, विचार, पुरुषार्थचतुष्टय, अनुशासन, मर्यादाको ज्ञान गराई वैदिक सनातन धर्मसंस्कृतिका ज्ञाता बनाउने, सदाचार र सद्विचारले परिपूर्ण आदर्श देशभक्त नागरिक बनाउने हो । वर्तमानमा आधुनिक भनिने पाश्चात्त्य शिक्षाको केही कमी छैन, विज्ञान पढेका बालबालिका घरघरै छन् । देशलाई चाहिनेभन्दा धेरै वैज्ञानिक (यदि विज्ञान पढेर वैज्ञानिक बन्ने हो भने) यहाँ प्रशस्त छन् तर अहिले देशलाई चाहिएको वैज्ञानिक मात्र होइन, एक आदर्श नागरिक पनि हो, जसमा नेपाली हुनुको गौरव बोध होओस्, जसले आफ्नो गौरवपूर्ण वैदिक वाङ्मय र त्यसमा निहित अथाह ज्ञानराशिको स्वाद चाखेको होओस्, जसले पूर्वीय दर्शन, पूर्वीय प्राच्यराजनीति, धर्मनीति, अर्थनीति जानेको होओस् । त्यसैले गुरुकुलमा अङ्ग्रेजी लगायत आधुनिक विषयहरू पनि सिकाइनुपर्छ तर त्यसको पाठ्यक्रम पूर्वीय संस्कार र संस्कृतिको अधीनमा रही निर्माण गरिएको हुनुपर्छ, किनभने गुरुकुलमा बसेर वेदको अध्ययन गर्ने सदाचारी बटुकले ती आधुनिक पुस्तक पल्टाउनासाथ आहारविहार एवम् रहनसहन बिगार्ने मानसिकता न बनाओस्, मस्तिष्कमा नराम्रो अवधारणा बन्ने चित्र नदेखोस् साथै मेकालेको षड्यन्त्रपूर्ण अङ्ग्रेजी शिक्षाले लादेको पश्चिमी संस्कृतिपरक, पूर्वीय आस्थाविश्वासमाथि आक्रमण गर्ने छलछामपूर्ण अवधारणा उसको मस्तिष्कमा प्रवेश गर्न नपाओस् बरु वैदिक संस्कार–संस्कृतिको महत्त्व बुझेर आफ्नो उत्तम चरित्र निर्माण गरी अरूलाई पनि त्यसको बोध गराओस् । हाम्रा पूर्वजहरूले त्यही आदर्श स्थापित गर्नुभएको थियो ।

गुरुकुल स्थापनाको उद्देश्य र आवश्यकता के हो ? अनि यस्तो अवस्थामा गुरुकुल विद्यालयहरूमा वेदका साथमा विज्ञान पनि पढाउनुपर्छ भन्ने माग कति सान्दर्भिक र कति औचित्यपूर्ण हुन्छ ? मानवजीवनमा कति सामान आवश्यक पर्छन् ? प्रत्येक दिन हामीलाई आवश्यक पर्ने वस्तुहरू हामी आफैँ निर्माण गर्न सक्छौ ? हामीलाई वस्त्र लगाउनुपर्छ, के हामी आफैँ वस्त्र बुन्न र सिलाउन सक्छौँ ? हामीलाई चक्कु, हँसिया इत्यादि हतियार चाहिन्छ, के ती हामी आफैँ निर्माण गर्न सक्छौँ ? अझ फलाम आफैले खानीबाट निकाल्न सक्छौँ ? हामीले खाने अन्न, दलहन, तेल, दुध, फलफुल सबै आफैँ उत्पादन गर्न सक्छौँ ? बिरामी हुँदा चाहिने औषधी आफैँ आविष्कार गर्न सक्छौँ ? के यो सम्भव छ एउटै व्यक्तिले सबै गर्न ? पक्कै छैन । ठीक त्यस्तै गरी एउटै व्यक्ति व्यास पनि डार्विन पनि बन्नु सम्भव छैन र आवश्यक पनि छैन । एउटै व्यक्तिले संस्कृत वाङ्मयको अथाह समुद्रको आलोडन त गर्न सम्भव छैन, त्यसभित्रको कुनै एउटै विषयको विज्ञ बन्न सके पनि त्यो ठूलो उपलब्धि मानिन्छ भने साथमा पाश्चात्य शिक्षा पनि मिसाएपछि कस्तो हुने हो ?

आज कतिपय संस्कृत मा.वि.हरूलाई संस्कृत तथा साधारण बनाएर छ्यासमिस शिक्षा दिन खोज्दा त्यहाँको गुणस्तर कस्तो भएको छ ? केही लेखाजोखा छ ? कसैले विचार गरेको छ ? जुन गुरुकुलमा संस्थापकको उद्देश्यानुसार निश्चित नीतिनियम, मर्यादा, संस्कार र आचारव्यवहारमा त्यहाँका विद्यार्थीहरूलाई राखिएको छ, शिक्षालाई मेकालेको षड्यन्त्रबाट बचाइएको छ, खिचडी हुनबाट बचाइएको छ, गुरु एवम् आचार्यप्रति श्रद्धा र आस्था राख्ने प्राचीन परिपाटीलाई जीवित राखिएको छ, त्यस्ता आश्रम तथा गुरुकुलहरू आदर्श शैक्षिक संस्था बनेका छन् । यदि त्यहाँ पनि आधुनिक शिक्षाका नाममा खिचडी पकाउन थाल्ने हो भने तिनको हालत दयनीय अवस्थामा पुग्नेछ, अन्य संस्कृत तथा साधारण मा.वि.कै जस्तो हुनेछ ।

विज्ञान शिक्षा चाहिन्छ, त्यसको विना देश विकास हुन सक्दैन । यसको अर्थ यो होइन कि वेद पढ्ने बटुकलाई पनि आइन्सटाइन र डार्बिन नै बनाऔँ । त्यसैले देशको सन्तुलित विकासका लागि यहाँ कोही वैज्ञानिक बन्नुपर्छ, कोही वैदिक वाङ्मयका मर्मज्ञ बन्नुपर्छ । एउटै व्यक्ति डार्बिन पनि व्यास पनि कसरी बन्न सक्छ ? एउटै कसौँडीमा मासु र हविष्यान्न (खिर) सँगै पकाउन खोज्नु कति औचित्यपूर्ण हुन्छ ? मदिरा र अमृतलाई एउटै बोतलमा राख्न खोज्नुको तात्त्विक अभिप्राय के हो ? के यसको अर्थ– पुनः मेकालेका भूतहरू रक्तबीजको रूप धारण गरेर नेपालमा जन्मिई यहाँको मौलिक अस्तित्व समाप्त पारी नेपाललाई धार्मिक सांस्कृतिक रूपमा दिशाहीन तुल्याएर यसको अस्तित्व नै समाप्त पार्न खोज्दै त छैनन् ?

वैदिक गुरुकुल एकमात्र त्यस्ता स्थान हुन्, जहाँ आर्ष सभ्यता जीवित छ, पूर्वीय सभ्यताको बीज अस्तित्ववान् छ र वेदविहित कर्महरू व्यवहारमा उतार्ने मानसिकता प्रबल छ, धर्मसंस्कृति र आदर्शको प्रतिनिधित्व छ । यी कुरा त्यसै भएका होइनन्, त्यसका लागि यहाँ धेरै त्यस्ता नियमहरूको पालना गरिन्छन्, जसलाई सर्वसाधारणले व्यवहारमा उतार्न त के, सुन्दा पनि अचम्म मान्न सक्छन् । गुरुकुलमा प्रवेश गर्ने उमेर ८–९ वर्ष हो । आठ वर्षमा उपनयन गरेपछि त्यहाँ गइन्छ । बिहान ब्रह्ममुहूर्तमा उठ्नु, स्तोत्रपाठ गर्नु, उज्यालो नहुँदै स्नान गर्नु, त्रिकाल सन्ध्यावन्दन गर्नु, बिहानभरि वेदाध्ययन गर्नु, सात्त्विक भोजन गर्नु, आवश्यक परे भोजनको प्रबन्धका लागि भिक्षाटन गर्नु, भोजनोपरान्त समयतालिकानुसार निर्धारित विषयहरू पढ्नु, यथासमय आश्रमीय सेवाकर्म गर्नु, भोजन गर्दा एकअर्काबीच दूरी कायम गर्नु, एकअर्कामा शिष्टाचारपूर्ण व्यवहार गर्नु, एक किसिमले गृहत्यागी भई अध्ययनमा मात्र तल्लीन हुनु, गुरुका हरेक आज्ञाको पालन गर्नु, आश्रममा भैपरि आउने हरेक समस्यालाई आफ्ना समस्या सम्झेर त्यससँग जुध्नु, आश्रमीय परिधान (लगौटी, कटिवस्त्र आदि निर्धारित वस्त्र) मात्र लगाउनु इत्यादि ।

गुरुकुलमा बस्ने छात्रले इच्छानुसार पसलमा गएर फास्टफुड किनेर खान पाउँदैन, घर गएर असात्त्विक भोजन गर्न पाउँदैन, मन लागेको बेला घर जान र मनपर्दो कपडा लगाउन पाउँदैन । यस्ता नियमहरूलाई सहज रूपमा पालन गर्न सक्ने बटुकहरूमात्र गुरुकुलीय आश्रममा टिक्न सक्छन् । लोकतान्त्रिक गणतन्त्र आएको छ भन्दैमा गुरुकुलमा अधिकार खोज्न र इच्छानुसारको व्यवहार गर्न मिल्दैन । त्यसो गरेमा गुरुकुल र अन्य विद्यालयबीच केही अन्तर हुँदैन अनि गुरुकुल स्थापना गर्नुको औचित्य पनि रहँदैन ।

गुरुकुलीय आश्रममा अहिलेसम्म वेदादिशास्त्रले विधान गरेको वर्णाश्रम व्यवस्थाको पालना गरिएको छ । वेदादिशास्त्रले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी चार वर्ण र ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास यी चार आश्रमको विधान गर्नुका साथै तिनको कर्तव्य र आचरणको व्यवस्था गरेका छन्, जसअनुसार द्विज बटुले (संस्काराद् द्विज उच्यते– भनेअनुसार उपनयन संस्कार भएका बटुले) २५ वर्षसम्म ब्रह्मचर्याश्रमको पालना गर्दै गुरुकुलमा गएर वेदादिशास्त्रको अध्ययन गर्नुपर्छ । गुरुकुलको सञ्चालन समुदायको दानदातव्यबाटै भएको छ । त्यसैले पनि गुरुकुलसञ्चालकहरू ब्राह्मणबटुहरूलाई मात्र पढाउन बाध्य रहेको सुनिन्छ, देखिन्छ । यसमा केही शास्त्रीय आधारहरू पनि छन्, जसलाई हाम्रो समाजले सदियौँदेखि पालन गर्दै आएको छ । यसबाट समाजकल्याण हुने वैज्ञानिक पक्षहरू पनि छन् तर विधर्मीहरूको षड्यन्त्र अनुसार पूर्वाग्रह राखी अहिले नकारात्मक दृष्टि मात्र प्रदान गरिन्छ र त्यसअनुसार नै आधुनिक शिक्षा प्रदान गरिन्छ ।

बाग्लुङको कुडुले फेदीमा वि.सं.१९९७ सालमा जन्मिनुभएका अनन्तश्रीविभुषित श्रीनिवास मुक्तिनारायण रामानुज जीयर श्रीधराचार्य स्वामीज्यू साँच्चै नै ऋषिकल्प हुनुहुन्थ्यो । नेपालमा वैदिक सनातन धर्मसंस्कृति, सदाचार, सद्विचार, सद्व्यवहारको प्रतिष्ठापन गर्नुहुने, जनजनमा कर्तव्याकर्तव्यको बोध गराउँदै समाजिक जागरण ल्याउनुहुने महान् विद्वान्, षड्विषयाचार्य श्रीधराचार्य स्वामीज्यूले वैदिक वाङ्मयको अध्ययनका साथै वैदिक सनातन धर्मसंस्कृतिको जगेर्ना गर्ने अनि आचारविचारयुक्त आदर्श राष्ट्रभक्त वैदिक विद्वान्हरूको उत्पादन गर्ने पवित्र उद्देश्यले वि.सं. २०४२ सालमा धान्याचल महायज्ञको आयोजना गरी पर्याप्त जनसहभागिता जुटाएर मुक्तिनाथ वेद विद्याश्रमको स्थापना गर्नुभएको थियो ।

अहिले तिरुपति बालाजी धाम मुक्तिनाथ वेद विद्याश्रम नामले चिनिएको यस विद्यालयबाट पढेर गएका विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक, सामाजिक, प्राशासनिक, प्राज्ञिक, शैक्षिक आदि क्षेत्रमा उच्च पदमा कार्यरत छन् र राष्ट्रसेवामा महत्त्वपूर्ण योगदान पु¥याइरहेका छन् (स्वामी श्रीधराचार्य स्मृतिग्रन्थ,पृ.६२) । श्रीधराचार्य स्वामीजीले गलेश्वर धाममा श्रीशालग्राम गण्डकी वेद विद्याश्रम (२०४२), बर्दियाको तिलकानामा भगवती संस्कृत मा.वि.(२०४३) को समेत स्थापना गर्नुभएको थियो ।

उहाँकै सत्सङ्कल्पअनुसार अहिले उहाँका शिष्यहरू कमलनयनाचार्य र गोविन्दाचार्यले नेपाल तथा भारतमा समेत विभिन्न गुरुकुलहरूको स्थापना र सञ्चालन गरेर संस्कृत वैदिक वाङ्मयको अध्यापन गराइरहनुभएको छ र योग्य जनशक्ति उत्पादन गरिरहनुभएको छ । श्रीधराचार्य स्वामीज्यूले आफ्नो अन्तिम अवस्थासम्म आफूसँग रही सेवा गर्नुभएका ऋषिप्रपन्नाचार्यलाई त्याग र वैराग्यको उपदेश दिएर आफ्नो सम्पूर्ण जीवन समाजकल्याणका लागि समर्पित गर्न अभिपे्ररित गर्नुभयो । श्रीस्वामीजीको प्रेरणा र शिक्षाले सुसंस्कृत हुनुभएका ऋषितुल्य आचारविचार र व्यवहार भएका तपस्वी सन्त ऋषिप्रपन्नाचार्यले श्रीस्वामीजीको सत्संकल्पलाई पूर्ण गर्न स्वामी श्री कमलनयनाचार्यको छत्रछायामा रही विद्यालय भवन, मन्दिर आदिको निर्माण कार्य पनि गराई समाजसेवामा महत्त्वपूर्ण कार्य गर्नुभएको देखिन्छ भने त्यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरूले उहाँलाई सहयोग गरिरहनुभएको छ । उहाँको यो कार्य यहाँ मात्र सीमित नभएर नेपालकै सुप्रसिद्ध तीर्थस्थल श्रीमुक्तिनाथ दिव्यधामको तीर्थयात्रामा जाने देशविदेशका लाखौँ श्रद्धालु भक्तहरूको सेवाका लागि अन्नक्षेत्र, विश्रामालय, मठ–मन्दिर, धर्मशालाहरू स्थापना गरी समुचित व्यवस्था गर्दै आउनुभएको छ, जसमा पोखरामा मुक्तिनाथ सन्तसेवा आश्रम, गलेश्वरधाममा श्रीमुक्तिहरि राधाकृष्ण मन्दिर, रामानुजमठ सन्तसेवा आश्रम, श्री शालग्राम गण्डकी वेदविद्याश्रम, झारखोलामा मुक्ति सन्तसेवा आश्रम (अन्नक्षेत्र), जुमसुंगमा मुक्तिनाथ सन्तसेवा आश्रम, कागवेनीमा पनि मुक्तिनाथ सन्तसेवा आश्रम र मुक्तिनाथमा मुक्तिनाथ सन्तसेवा आश्रम, रानीपौवाहरू मुख्य छन् ।

त्यसैगरी बाग्लुंग पञ्चकोटमा धार्मिक पर्यटन स्थलदेखि लिएर अन्य क्षेत्रका सामाजिक तथा धार्मिक कार्यहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले सम्पूर्ण युवा वर्गहरूलाई सुशिक्षत र आध्यात्मिक बनाउनका लागि स्थापित श्रीवैष्णव परिषद् नेपाल जस्तो राष्ट्रिय संस्थाको नेतृत्वसमेत गरिरहनुभएको छ, जसबाट सम्पूर्ण समाजलाई अगाडि बढाउन आदर्श जीवन यापन गर्नुभएको छर्लङ्ग छ ।
संस्कृत वाङ्मय हाम्रो अमूल्य सम्पत्ति हो र त्यसको अध्ययन–अध्यापन गरी त्यसको मर्मबोधका साथ व्यवहारमा उतार्नु हाम्रो कर्तव्य हो । त्यसैका लागि स्वामी कमलनयनाचार्य, ऋषिप्रपन्नाचार्यलगायतका साधुहरूको नेतृत्वमा समुदायले नै गुरुकुल सञ्चालन एवम् व्यवस्थापन गरिरहेको छ । उहाँहरूको प्रवचनादिबाट समाजले पर्याप्त मार्गदर्शन पाएको छ, कर्तव्यबोध गरेको छ र तदनुकुल सदाचारमा संलग्न भएको छ, जसले गर्दा समाज सभ्य, शिष्ट र आदर्श बन्ने दिशामा अग्रसर छ । यसरी समाजसुधारमा उक्त आचार्यहरूले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको देखिन्छ ।

समाजमा राम्रो कार्य गर्ने व्यक्तिहरूको खुट्टा तान्ने प्रवृत्ति यदाकदा देखापर्छ नै । यो एकदम अस्वाभाविक पनि होइन । यसैगरी वर्तमान समयमा कमलनयनाचार्य र ऋषिप्रपन्नाचार्यलाई अनावश्यक विवादमा तान्ने प्रयत्न गरिँदै छ– कमलको फूललाई जबर्जस्ती हिलो छ्याप्न खोजेझैँ गरी । श्रीधराचार्य स्वामीज्यूले स्थापना गरेको र हाल स्वामी श्री कमलनयनाचार्यको संरक्षकत्वमा ऋषिप्रपन्नाचार्यले सञ्चालन गर्दै आएको मुक्तिनाथ वेद विद्याश्रममा विज्ञान विषय पढाइनुपर्ने, सबै वर्गका बालबालिकालाई पनि गुरुकुलमा ल्याएर वेद पढाउनुपर्ने लगायतका केही माग राखेर केही समयअघिदेखि त्यहाँ विवाद सिर्जना गरिएको देखिन्छ । यो विवाद त्यस्तो समयमा आयो, जतिखेर देश पूरै लकडाउनमा छ र कोभिड–१९ का कारण विकराल सङ्कट आएको छ, सधैँ खचाखच भरिने स्कुल कलेज शूनसान छन्, पठनपाठन बन्द छ । यस्तो बेलामा न त भर्ना खुलेको छ, न कोही भर्ना हुन आएको छ, न कसैलाई भर्ना लिएको वा नलिएको अवस्था छ ।

यसअघि चर्चा गरिएको समस्याको समाधान खोज्नु आवश्यक छ । प्रश्न उठाउनेले जुनसुकै नियतले उठाएको भए पनि त्यसलाई गम्भीरतापूर्वक विचार गरी सही समाधान दिनु नै बुद्धिमत्ता हो । उक्त समस्याको समाधान यसप्रकार गर्न सकिन्छ– गुरुकुलीय संस्कार, मर्यादा, नीतिनियम र आचारविचार नै हाम्रो देशको पहिचान र समाजको प्राण भएकाले त्यसमा कुनै खलल नपुग्ने गरी गुरुकुलसम्बद्ध दिवाकालीन सत्रमा पढ्ने गरी जोसुकैलाई भर्ना खुल्ला गर्न सकिन्छ । यसभन्दा पनि अघि बढेर तिरुपति बालाजी धाम मुक्तिनाथ वेद विद्याश्रम सञ्चालन समितिका अध्यक्षले विद्यालयमा कसैलाई निषेध नगरिको स्पष्ट पार्नुभएको देखिन्छ ।

यहाँ स्मरणीय के छ भने तिरुपति बालाजी धाम मुक्तिनाथ वेद विद्याश्रमलगायत कतिपय विद्यालयहरू सरकारी विद्यालय बनेका छन् तर ती विद्यालयमा विद्यार्थीहरू बस्ने गुरुकुल छुट्टै छन्, जुन मन्दिरसँग सम्बद्ध छन् । यसरी विद्यालय र गुरुकुल एउटै होइनन् । त्यसैले विद्यालय सरकारी भएपनि गुरुकुल निजी वा सामाजिक हुन्, जहाँ सरकारी नीतिनियमभन्दा संस्थापक र सञ्चालकहरूको आचारसंहिता बढी प्रभावकारी हुन्छन् ।

अहिले जुन तरिकाले गुरुकुलमा सबैले पढ्न पाउनुपर्छ र विज्ञानलगायतका आधुनिक विषय पनि त्यहाँ पढाइनुपर्छ भन्ने चर्को आवाज उठेको छ, त्यो आवाज उठाउने समुदायले छुट्टै गुरुकुल सञ्चालन गर्नु श्रेयस्कर हुन्छ । देवघाटको बागेश्वरीमा योगी नरहरिनाथ संस्कृत गुरुकुलम् सञ्चालनमा आइसकेको छ र त्यहाँ कक्षा ६ देखि ८ सम्म पठन–पाठन भइरहेको छ । । योगी नरहरिनाथको आदर्शअनुरूप स्थापना गरिएको बागेश्वरीको गुरुकुलमा राई, लिम्बू, नेवार,चौधरी आदि जनजाति तथा दलित भनिने (यस शब्दले सम्मानजनक सम्बोधन नगर्ने भएकाले यस शब्दको प्रयोगमा मेरो रुचि छैन) समुदायका विद्यार्थीहरूलाई पढाइँदै छ ।

यस्ता समावेशी गुरुकुलहरू देशैभर सञ्चालन गर्न सकिन्छ । यतिमात्र होइन, उक्त आवाज उठाउने समुदायले अझै एउटा कुरा छुटाएको छ, महिलाले पनि पढ्न पाउनुपर्छ भन्ने । त्यसका लागि कन्या गुरुकुल सञ्चालन गर्नु उचित हुन्छ, जसको प्रारम्भ केही समयअघि स्वामी कमलनयनाचार्यले गर्नुभएको थियो । काठमाडौँको गोल्फुटारमा उहाँले सञ्चालन गरेको कन्या गुरुकुलमा अध्ययन गरेका कयौँ कन्याहरू अहिले देशविदेशमा कुशल कथावाचकका रूपमा चर्चित छन् । (लेखक नेपाल संस्कृत विश्वबिध्यालय बेलझुन्डि दाङ्गका उपप्राध्यापक हुन्)

प्रतिक्रिया