९२ अर्ब बढि रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को साउनमा रेमिट्यान्स आप्रबाह २३ प्रतिसतले बृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । केन्द्रिय बैकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले त्यस्तो देखाएको हो । गत बर्षको साउनमा रेमिटेन्समा २ प्रतिशतले मात्रै बढेको थियो ।  गत आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो त्यो भन्दा अघिको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले मात्रै कम हो । कोभिड–१९ का कारण रेमिट्यान्स खस्किने चिन्ता बढेको अवस्थामा रेमिटयान्स बढनुलाई अर्थपुर्ण रुपमा लिइएको छ । राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार आयात खस्किए पनि विदेशमैं घुमिरहने रकम औपचारिक माध्यमबाट भित्रिएको कारण अगाडी बढेको हो ।

देशको चालु खाता झण्डै चार वर्षपछि सकारात्मक भएको छ । साउनमा चालु खाता २५ अर्ब ४१ करोड रुपैया बचतमा रहेको छ । २०७३ मंसीर पछि चालु खाता सकारात्मक भएको यो पहिलोपटक हो । २०७३ मंसीरमा देशको चालु खाता ३ अर्ब ४९ करोड रुपैया बचतमा थियो । त्यसयता, लगातार घाटामा रहेको चालु खाता साउनमा बचतमा पुगेको हो । गत वर्षको साउनमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा थियो ।
आयात खस्किएको तथा रेमिटेन्सको उच्च आप्रवाहका कारण चालु खाता सकारात्मक भएको हो । साउनमा विदेशबाट वस्तु आयात १९.६ प्रतिशतले घटेको छ । त्यस्तै, रेमिटेन्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ ।

चालु खाताले वैदेशिक कारोबारमा खर्च र आम्दानीको अन्तरलाई जनाउँछ । चालु खाता सकारात्मक भएमा देशले लगानी भन्दा बचत गरेको देखाउँछ । चालु खाता वैदेशिक मुद्राको कारोबारको एउटा विवरण हो । यसमा व्यापार, रेमिटेन्स, ट्रान्सफर आदिको आम्दानी र खर्चको रकम समावेश गरिएको हुन्छ ।  साउनमा चालु खाता सकारात्मक अवस्थामा पुगेको भएपनि यसको दिगोपनमा भने आश्वस्त हुन सक्ने अवस्था देखिदैन । कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्र शिथिल भएर विदेशबाट आयात खस्किएका कारण देशले आयातका लागि खर्च गर्नुपर्ने रकम घटेको हो । अर्थतन्त्र चलायमान हुन थालेर विदेशबाट पहिलेकै जसरी आयात बढ्न थालेमा चालु खाता फेरि घाटामा पुग्नसक्ने विश्लेषकहरु बताउछन ।

अघिल्लो वर्षको साउनमा १ खर्ब ७ अर्बको वस्तु आयात भएकोमा गत साउनमा ८६ अर्बको मात्र आयात भएको थियो । कोरोनाका कारण आर्थिक क्रियाकलाप कमजोर भएकाले देशमा फलाम, औद्योगिक मेसिनदेखि उपभोग्य सामान सम्मको माग कमजोर रहेको छ ।  केन्द्रीय बैकको शोधनान्तर स्थिति साउनमा ५१ अर्ब ४६ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले मात्रै वचतमा थियो । शोधनान्तर स्थितिले एक देशले अर्को देशसँग गर्ने वित्तीय लेनदेनको हिसाब किताबलाई जनाउँछ । देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम बढी भएमा शोधनान्तर स्थिति सकारात्मक हुन्छ । भित्रिने भन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर घाटा हुन्छ । विदेशबाट वस्तु र सेवा आयात, वैदेशिक भ्रमण तथा शिक्षा, हवाई यातायातको टिकट खरिद आदिका लागि देशबाट रकम बाहिरिन्छ । विदेशमा गरिने वस्तु र सेवाको निर्यात, पर्यटकले ल्याउने रकम, रेमिटेन्स आदिमार्फत देशमा रकम भित्रिन्छ । देशबाट बाहिरिने रकम घटेसँगै विदेशी मुद्राको सञ्चिती पनि साउनमा १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । यो रकमले १५ दशमलव ६ महिनाको वस्तु र सेवाको आयात धान्न सक्छ ।

मुल्य बृद्धि साढे ३ प्रतिसत
राष्ट्र बैंकले मूल्य वृद्धिदर ३ दशमलव ४९ प्रतिश रहेको बताएको छ । अघिल्लो साउनमा मूल्य वृद्धिदर ६ दशमलव ९५ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव शुन्य ४ प्रतिशत रहेको छ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य उच्च रहेको छ ।
२०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८ दशलमव २१ प्रतिशतले बढेको देखिएको छ । काठमाडौंमा ३ दशमलव ३१ प्रतिशत, तराईमा ४ दशलमव शुन्य २ प्रतिशत, पहाडमा २ दशलमव ७२ प्रतिशत र हिमालमा ४ दशलमव शुन्य ७ प्रतिशत मुद्रास्फीति रहेको छ ।  २०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ३३ प्रतिशत रहेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७ दशमलव ४४ प्रतिशत, ८ दशमलव १० प्रतिशत र २ दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया