सुआरेजको बर्हिमगनमा मेस्सीको असन्तुष्टी

लण्डन । लिओनल मेस्सीले बार्सिलोनासँगको आफ्नो असन्तुष्टी फेरि एकपटक सार्वजनिक गरेका छन् । लुइस सुआरेजले क्लब छाड्नु परेको विषयमा मेस्सीले असन्तुष्टी व्यक्त गरेका हुन् । उरुग्वेली फरवार्ड जो बार्सिलोनाका सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोली सम्हालेदेखि नै सुआरेज आफ्नो योजनामा नरहेको प्रष्ट पारेका थिए । यहि साता सुरुआरेज फ्रि ट्रान्सफरमा एटलेटिको म्याड्रिड पुगेका थिए ।

सुआरेज मेस्सीका निकै मिल्ने साथी हुन् । क्लबले उनलाई जसरी निकाल्यो त्यसमा मेस्सीको गुनासो रहेको छ । ‘एक विजेता, एउटा समूहको महत्वपूर्ण खेलाडी । तिमी यो भन्दा उत्कृष्ट बिदाइको हकदार थियौ ,’ मेस्सीले इन्स्टाग्राममा सुआरेजसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘जस्तो व्यवहार तिमीलाई गरियो, त्यो राम्रो भएन । तर पछिल्लो समय जे भइरहेको छ, त्यसले गर्दा म आश्चर्यमा भने परिन ।’

सुआरेजको बर्हिगमनमा बार्सिलोनाको व्यवहार हार्दिकतापूर्ण रहेन । उनी अघिल्लो सिजननै क्लब छाड्न चाहेका थिए । तर क्लबले अर्को एक सिजन क्लबमा राख्न बाध्य पारेको थियो । बार्सिलोनाकी कप्तान मेस्सीले सुआरेजलाई ड्रेसिङ रुममा मिस गर्ने बताएका छन् । ‘म आज ड्रेसिङ रुममा जाँदा उनी थिएनन् । उनी नहुदा ड्रेसिङ रुममा कठिन हो भन्ने महसुस गरे,’ उनले भने, ‘मैदान बाहिर र मैदान भित्र पनि तिमी छैनौं । हामी सधै सँगै हुन्थ्यौं । धेरै त्यस्ता क्षण जुन अविस्मरणीय छन् ।’

सुआरेजलाई एट्लेटिकोको जर्सीमा हेर्दा असजिलो हुने पनि अर्जेन्टिनी फरवार्डले बताएका छन् । ‘अर्को क्लबमा जर्सीमा हेर्न पक्कै असहज हुनेछ । त्यसमाथि तिमीविरुद्ध खेल्नुपर्ने,’ उनले थपे, ‘नयाँ चुनौतीका लागि तिमी शुभकामना । म तिमीलाई धेरै माया गर्छु । साथी चाँडै भेट्नेछौं ।’

प्रतिक्रिया