अविरल वर्षाले बदाम खेतीमा क्षति

पर्सा । पाँच दिनदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको ग्रामीण क्षेत्रहरूका बदाम खेतीमा क्षति भएको छ । सिकटा र ओरिया खोलाहरूमा आएको बाढीले गर्दा बदाम खेतीमा क्षति पु¥याएको स्थानीय किसान शिवशम्भु दासले बताए । ‘गत वर्ष पनि ५० बिघामा लगाएको बदाम खेतीमा बाढीले दुःख दिएको थियो यसपालि पनि दुःख दियो’, दासले भने, ‘नेपाल सरकारले किसानहरूलाई केही क्षतिपूर्तिको व्यवस्था नमिलाएकाले किसानहरू अझ धेरै दुःखी भएका छन् ।’ गाँजा खेती गरिरहेका किसान जिल्ला प्रहरी कार्यालय पर्सामा आएका एसपी राजेन्द्रमान श्रेष्ठको पहलमा गाँजाखेती पर्साबाट मुक्त भएपछि सोही ठाउँमा बदाम खेती गर्दै आएका छन् ।

नेपाल सरकार कृषि मन्त्रालयले बदाम खेती गर्ने किसानहरूलाई कुनै सुबिधा नराखेको कारण समस्या देखिएको मुडली रबिदासका किसान वीरेन्द्र साह कानुले बताए । लक डाउन र निषेधाज्ञाले कामकाज ठप्प भएकाले अर्थ व्यवस्थापनमा समस्या भएको किसानहरू बताउँछन् । बदाम खेतीमा लगानी गर्ने नगद नभएका कारण बदाम खेतीमा कमी गर्नुको साथै भएका गरगहना साहुकहाँ धितो राखेर कर्जा लिएर बदाम खेती गरेको किसान बताउँछन् ।

बदाम जेठ महिनामा रोपिन्छ भने असोज महिनामा खन्ने काम गरिन्छ । बदाम प्रतिकठ्ठामा ४० देखि ५० किलोसम्म फल्ने किसान बताउछन् । बदाम खेती बलौटे माटोमा बढी उव्जनी हुनाले नदीको किनारमा किसानले बदाम खेती गर्दै आएका छन् । बदाम प्रतिकिलो १ सय २० देखि १ सय ५० रुपैयाँसम्म बिक्री हुने किसानहरू बताउँछन् । यसपालि पर्सा जिल्लामा करिब २० हेक्टर जग्गामा बदाम खेती भएको कृषि बिकास कार्यालय पर्साका जेटिए सुरेश चौरसियाले बताए ।

ग्रामीण क्षेत्रका लंगडी, मुडली, टिनडोबिया, रबिदास भिस्वा, सबैठवा, पोखरिया, मिर्जापुर, भलुवहिया, आसवारी लक्ष्मीपुर जगरनाथपुर, महादेवपटी, पिपरडारी, पाण्डेपुर, शंकर सरैया, देउरिया, लगायतका ठाउँमा बदाम खेती भएको छ । बदाम खेतीमा कृषि ज्ञान केन्द्रबाट क्षतिपूर्तिको कुनै व्यवस्था नरहेको जेटिए चौरसियाले बताए । यसपालि प्रदेश सरकारलाई यसको बारेमा जानकारी दिनेसमेत उनले बताए ।
बदाम खेती गर्ने किसानहरू एकातिर लक डाउन तथा अर्काेतिर बाढीको चपेटामा परेका छन् । यसरी दोहोरो मारमा परेका किसानहरूले प्रदेश सरकारले अनुगमन गरी सहयोग गरिदिनका लागि अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया