‘सरकार कुरामा भन्दा काममा विश्वास गर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकार देश र जनताको काममा केन्द्रित भएर काम गरिरहेको बताएका छन । १६औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवम् वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औं वार्षिकोत्सव समारोहमा शनिबार भर्चुवल सम्बोधन गर्दै मन्त्री ढकालले सो कुरा बताए ।

सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताउँदै मन्त्री ढकालले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले सरकार काम गरिरहेका प्रष्ट पारे । सरकार निरोगी नेपालको अभियान साकार पार्न लागिपरेको पनि उनले बताए । स्वस्थ जीवनशैली र खानपानका विषयमा नागरिकमा सचेतना जगाउन आवश्यक रहेको मन्त्री ढकालले चर्चा गर्दै मन्त्रि ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको तथ्याङ्क प्रस्तुत गरे ।

क्यान्सरबाट मृत्यु हुनेमध्ये १० प्रतिशत नागरिक नेपालजस्तै देशका रहेको बताउँदै उनले भने, ‘हामीले क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्छ ।’ अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक पनि सो क्रममा मन्त्री ढकालले सार्वजनिक गरे । मन्त्री ढकालले भर्चुअल माध्यमबाटै अस्पताले ई–टिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ पनि गरे । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उजले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया