कंगोमा सैनिक जवानमाथि भएकाे निर्घात कुटपिट घटनामा जङ्‍गी अड्‍डाले थाल्यो छानबिन

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात कुटपिट गरेको घटनामा जङ्‍गी अड्‍डाले छानविन थालेको छ। तीनजना क्याप्टेनहरू (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले एकजना जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेको घटनाको सेनाले ुकोर्ट अफ इन्क्‍वायरीु बनाएर छानबिन थालेको हो।

शान्ति मिसनमा तैनाथ सैनिक जवानलाई तीनजना सहसेनानीले कुटपिट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना छानबिनका लागि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जेष्ठ सेनानीको नेतृत्वमा ‘कोर्ट अफ इन्‍क्‍वायरी’ गठन गरेको हो। निर्देशनालयले घटनामा सैनिक मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिन थालिसकेको उल्लेख गरेको छ।

निर्देशनालयले जेष्ठ सेनानीको नेतृत्वमा ‘कोर्ट अफ इन्क्‍वायरी’ बनाइएको जानकारी दिएको छ। ‘सैनिक आचरण र मर्यादाविपरीत भएको घटनामा संलग्‍न सबै जवान र अधिकृतमाथि जेष्ठ सेनानीको नेतृत्वमा छानबिनको प्रकृया सुरु गरिएको छ,’ सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भनेका छन्।

कंगोमा ज्वाला गणबाट खटिएका जवानहरूलाई यही बिहीबार राति तीनजना सहसेनानीले कुटपिट गरेका हुन्। कुटपिटपछि सार्वजनिक भएका फोटोमा एक जवानको शरीरमा गहिरो नीलडाम देख्‍न सकिन्छ। उता कुटपिटमा संलग्‍न अधिकृतहरूले सैनिक जवानहरूले राति हो–हल्ला गरेको दाबी गरेका छन्।

सम्झाउँदा पनि सैन्य मर्यादा नाघेर अटेर गरेपछि कुटपिटसम्मको घटना भएको दाबी उनीहरुले गरेका छन्। कंगोको शान्ति मिसनमा तैनाथ सैनिक जवान कुटिएको घटना थाहा पाएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले छानबिन थाल्न निर्देशन दिएका थिए। त्यसपछि हेड क्‍वार्टरले कोर्ट अफ इन्क्‍वायरीु गठन गरेको हो।

 

 

प्रतिक्रिया