ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौं । राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।  कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो । सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए ।

सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताए । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने संघको योजना छ । प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ । – रासस

प्रतिक्रिया