क्यानको खेलाडी ग्रेडिङमा पक्षपात !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरणमा राष्ट्रका लागि अन्तराष्ट्रिय खेल खेलिरहेका खेलाडी समेत अटाएका छैनन् । सन् २०२० को लागि गरिएको वर्गीकरणमा अघिल्लो वर्ष अन्तराष्ट्रिय खेल नै नखेलेका खेलाडीलाई अटाइएको छ भने खेल खेलका खेलाडीलाई पाखा लगाइएको हो ।

तीन श्रेणीमा वर्गीकरण गरिएका खेलाडीले क्रमश ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ मासिक तलब पाउछन् । खेलाडीका लागि क्यानले दिएको यो ‘कन्ट्रयाक्ट’ अहिलेसम्मकै सर्वाधिक भएपनि विवादमा परेको छ । एकदिवसीय मान्यता पाइसकेको मुलुकले यसअघि २२ खेलाडीसँग गर्ने ‘कन्ट्रयाक्ट’ अहिले झारेर १८ मा सिमित गरिएको छ ।

सन् २०१९ मा ४ एकदिवसीय र ११ टी–ट्वान्टी क्रिकेट खेलेका बलर ललित नारायण राजबंशी यसपटक क्यानको ‘कन्ट्रयाक्ट’ मा समावेश गराइएको छैन । तर, सन् २०१९ मा अन्तराष्ट्रिय क्रिकेट नै नखेलेका खेलाडीद्वय सुवास खकुरेल र कमल सिंह ऐरीले स्थान बनाउन सफल भएका छन् । क्यानले श्रेणी तय गर्दा पनि खेलाडीमाथ पक्षपात गरेको छ । राम्रो प्रर्दशन गरेकालाई सी श्रेणी र केही कमजोर प्रर्दशन गरेका खेलाडीलाई बि श्रेणीमा राखिएको छ । अघिल्लो वर्ष ६ टी–ट्वान्टीमा ७ विकेट लिएका सुशन भारी बी श्रेणीमा अटाउदा सोही वर्ष १७ खेलमा १६ विकेट लिएका नियमित सदस्य अभिनास बोहरा सी श्रेणीमा झारिएको छ ।

यस्तै, सन् २०१९ मा ५ टी–ट्वान्टी र एक एकदिवसीय खेलमा २ रन बनाएर ९ विकेट लिएका बसन्त रेग्मी ए श्रेणीमा उक्लिएका छन् । उनि अहिले पनि राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत रहेका छन् । तर, १६ टी–ट्वान्टी र तीन एकदिवसीय खेलमा क्रमश ११३ र ५८ रन बनाए तथा १३ र ७ विकेट लिएका सोमपाल कामीलाई भने बि श्रेणीमा झारिएको छ । क्यानले बर्गिकरण गरेको श्रेणीअनुसार ए मा आठ, बि मा ४ र सी मा ६ खेलाडी रहेका छन् ।

पुरुष खेलाडीको हकमा मात्र नभएर महिलाको वर्गीकरणमा समेत लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेट नखेलेका खेलाडीले सम्झौता हात पारेका छन् । क्यानले इतिहासमा पहिलो पटक महिला खेलाडीको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गरेको हो । पुरुष जस्तै महिला खेलाडी छनोट पनि विवादमुक्त रहन सकेन् ।

सन् २०२० बाट लागु हुने गरी गरिएको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गत वर्ष क्रिकेट नखेलेका खेलाडी समेत समावेश रहेका छन् । जसमा बी ग्रेडमा समावेश रहेकी ज्योती पाण्डे र पूर्व कप्तान ऋतु कनोजियाले सन् २०१७ देखि अन्तराष्ट्रिय क्रिकेट खेलेका छैनन् । यस्तै बी श्रेणीमा नै रहेकी कबिता जोशी तथा सी श्रेणीमा रहेका अनुराधा चौधरी र शोभा आलेले अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेट नै खेलेका छैनन् ।

यद्यपी क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेकोमा राम्रो सुरुवात भएको सबैले प्रतिक्रिया दिएका छन् । यो सँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए । अहिले गरिएको ग्रेडिङ २०२० डिसेम्बर सम्मको लागि मात्र लागु हुने क्यानले जनाएको छ । २०२१ को लागि अर्को ग्रेडिङ सार्वजनिक हुनेछ ।

प्रतिक्रिया