छुट्टाछुट्टै पहिरोमा परी १० जनाको मृत्यु

स्याङ्जा । लगातार दुई दिन परेको अविरल वर्षाका कारण स्याङ्जाको विभिन्न स्थानमा पहिरो गएको छ । बिहीबार बिहान करिब पाँच बजेको समयमा वालिङ १४ तमादीमा पहिरो जाँदा घरमा सुतिरहेका नौ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सोही पहिरोमा घाइते भएकी १६ वर्षीय मनिषा नेपालीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जनप्रतिनिधि लगायतले चार घण्टा पहिरो खनेर नौ जनाको शव निकालेका छन् । उक्त पहिरोमा २८ वर्षीया उमकला नेपाली (पाहुना) ४८ वर्षीया माया नेपाली, ६० वर्षीया सेनी नेपाली, ३० वर्षीय दीपक नेपाली, नौ वर्षीय दिवस नेपाली, १४ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीय विनिता नेपाली र ६ महिने बच्चासहित ९ जनाको ज्यान गएको छ ।

यसैगरि स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा बुधबार राती पहिरो जाँदा दुई घर पुरिएका छन् । कालिगण्डकी–४, गौतमटोलमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा १६ वर्षीय विष्णु बहादर दमैको मृत्यु भएको छ । दुई दिनदेखिको लगातार वर्षासँगै राती करिब तीन बजे आएको पहिरोले बाबुराम दमै र जगतबहादुर नेपालीको घर पुरिएको हो । पहिरोको जोखिममा रहेका कारण उक्त घर संरक्षण गर्न उठाइएको मेसिनरी वाल नै अविरल वर्षाको कारण पहिरोले पल्टिन गई घर पूर्ण रूपमा क्षति भएको हो ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया