सेतीको शव गृह जीर्ण

धनगढी । सेती प्रादेशिक अस्पतालमा रहेको शव गृह जीर्ण बन्दै गइरहेको छ जसका कारण प्रदेशको एक मात्र रेफरल अस्पतालले विगत लामो समयदेखि शव गृहको समस्या खेप्दै आएको छ । शव गृह मापदण्ड अनुसारको पछि छैन । अहिले शव गृहमा दुई शव मात्रै राख्न सकिने व्यवस्था छ । त्यति पनि लामो समय राख्न सकिँदैन । शव राख्ने स्थान पनि गतिलो छैन । सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले शव गृहमा मापदण्ड अनुसारका उपकरण नहुँदा समस्या भइरहेको बताए । लामो समय शवलाई राख्नुपर्दा फ्रिजको आवश्यक पर्ने भए पनि फ्रिज नहँुदा समस्या भएको उनले बताए । प्रर्याप्त मात्रामा शवगृहभित्र ठाउँ नहुँदा धेरै नै समस्या भएको उनले दुःखेसो गरे ।

समस्याका बाबजुुत पनि आफूहरूले पोस्टमार्टम गर्दै आएको बताए । पोस्टमार्टमका लागि आवश्यक पर्ने उपकरण पनि पर्याप्त छैन । न दरबन्दीअनुसार नै जनशक्ति छन् । लामोसमय शवलाई राख्नुपर्दा फ्रिज नहँुदा बरफमा राख्ने गरेको उनले बताए ।  चिकित्सकहरूले मात्रै होइन सेती प्रादेशिक अस्पतालको प्रशासनले पनि शव गृह पुरानो हुँदा समस्या भइरहेको बताएको छ । ‘शव गृह पुरानो र जीर्ण भएको छ’ सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले भने, ‘आधुनिक र नयाँ शव गृह निर्माणका लागि पहल भइरहेको छ ।

‘चालु आर्थिक वर्षको आधुनिक र नयाँ शव गृह निर्माणका लागि बजेटको समेत व्यवस्था भइसकेको उनले जानकारी दिए । केही महिनाभित्रै आधुनिक शव गृह निर्माण हुने उनको दाबी छ । गत वर्ष पाँच सय शवको पोस्टमार्टम भएको थियो । अहिले पोस्टमार्टमको संख्या बढिरहेको छ । तर, शव गृह जीर्ण बन्दा पोस्टमार्टम गर्नै समस्या भइरहेको चिकित्सकहरूको गुनासो छ । सामाजिक विकास मन्त्रालयले पनि आधुनिक शव गृह बनाउन अस्पताललाई ताकेता गरिरहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र सिंह कार्की चाँडौ नयाँ शव गृह तयार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया