संक्रमणको मुख्य केन्द्र उपत्यका

काठमाडौं । कोभिड–१९ का संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा भेटिन थालेका छन् । देशकै सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा आधा संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत चिन्ता व्यक्त गरेको छ । काठमाडौंमा देखिएको संक्रमण चाडवाड आएसँगै देशभर फेरी फैलिन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ दिनमा देशभरी भेटिएका कुल संक्रमितमध्ये ५४ दशमलव ३७ प्रतिशत उपत्यकाकामा रहेका छन् । ३ देखि ८ असोजसम्म भेटिएका ७ हजार ७ सय ८ संक्रमितमध्ये उपत्यकामा मात्रै ४ हजार १ सय ९१ जना रहेका छन् । जसमध्ये काठमाडौंका ३ हजार ३ सय २२, ललितपुरका ४ सय २ र भक्तपुरमा ४ सय ६७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लोपटक लगाइएको निषेधाज्ञा हटाएसँगै उपत्यकामा संक्रमितको संख्या बढी देखिन थालेको छ ।

बिहीबार मात्रै उपत्यकामा ७ सय ५५ जनामा संक्रमण देखिएको छ । कुल १ हजार ४ सय ९७ संक्रमित भेटिएकामध्ये ५० दशमलव ४३ प्रतिशत काठमाडौं उपत्यकामा भेटिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ संक्रमित भेटिएका छन् । हाल सक्रिय संक्रमित रहेकामध्ये काठमाडौंमा ७ हजार ५ सय ७९, ललितपुरमा ७ सय ५८ र भक्तपुरमा ८ सय ७३ जना रहेका छन् । देशभर कुल सक्रिय संक्रमित १८ हजार ४ सय ३७ जना मध्ये ९ हजार २ सय १० उपत्यकामै रहेका हुन् । बिहीबारको तथ्यांकसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्नुको प्रमुख कारण जनस्वास्थ्यको मापदण्ड पूरा नगर्नु नै रहेको बताउँछन् । जनजीवन र आर्थिक गतिविधि सहज बनाउन निषेधाज्ञा खोलेसँगै मानिसमा लापरबाही बढ्नु नै मुख्य कारण भएको उनको भनाइ छ । ‘निषेधाज्ञा हटाएको केही दिनमै काठमाडौंमा संक्रमण तीव्र रूपमा फैलिएको छ । संक्रमित संख्यामध्ये करिब ५० प्रतिशत काठमाडौं उपत्यकामै भएको पाइएको छ’, उनले अगाडि भने, ‘काठमाडौं उपत्यकाजस्ता घना बस्तीमा मानिसहरूबीच दुरी कायम गर्न चुनौती हुन्छ । जहाँ भिडभाड हुन्छ त्यहा संक्रमण फैलिने दर झनै हुन्छ ।’

मिति उपत्यकामा कुल संक्रमित
असोज ३ ७११ १,२०४
असोज ४ ७६७ १,३२५
असोज ५ ६७४ १,१५४
असोज ६ ६४७ १,३५६
असोज ७ ६३७ १,१७२
असोज ८ ७५५ १,४९७

स्वास्थ्य मन्त्रालयले चाडवाड नजिकिँदै गरेकाले संक्रमण दर झनै बढ्न सक्ने चेतावनी पनि दिएको छ । काठमाडौंबाट गाउँगाउँ जाँदा संक्रमण लिएर पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि सबैसँग अपिल गरेको छ । स्वाब परीक्षणका लागि सरकारले शुल्क घटाए पनि अझै पुरानै शुल्क लिने अस्पताल धेरै रहेकाले अधिकांश परीक्षण गर्न जाने गरेका छैनन् । लक्षण देखिएका मात्र रकम तिरेर स्वाब परीक्षण गर्न गएकाले संक्रमण अझै फैलिएको हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

बिहीबार १७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा गौतमले पाँच महिला र १२ पुरुषसहित १७ जनाको संक्रमणका कारण ज्यान गएको जानकारी दिए ।  मृत्यु भएकामा सबैभन्दा बढी बागमती प्रदेशमा तीन महिला र चार पुरुषसहित सात जनाको मृत्यु भएको छ । जसमध्ये भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौंकी ८२ वर्षीया महिला र ८०, ७९ र ७५ वर्षीय पुरुष रहेका छन् । यस्तै धादिङकी ३२ वर्षीया महिलाको संक्रमणका कारण ज्यान गएको हो । प्रदेश–१ मा सुनसरीकी ८१ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष र मोरङकी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । प्रदेश–२ मा धनुषाका ७० र ६८ वर्षीय पुरुष तथा रौतहटका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रदेश–५ मा नवलपरासीका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशमा तनहुँका ३९ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

५० हजारले जिते संक्रमण
कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ७४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै अहिलेसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २ सय ३२ जना आइसियुमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया