अन्तर्राष्ट्रिय सिरिज गर्ने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने तयारी गरिरहेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगै समन्वय गर्दै आगामी डिसेम्बर २०२० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने क्यानले जनाएको छ । नेपाल क्रिकेट संघको चितवनमा बसेको बोर्ड बैठकमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी अगाडि बढाउने निर्णय भएको जनाएको छ ।

त्यस्तै आगामी मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने पनि बैठकले निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्दै महिला र पुरुष राष्ट्रिय प्रतियोगिता (पीएम कप) सञ्चालन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ । क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको अभ्यास सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले अभ्यास सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको छ । चितवनको एक होटेलमा बसेको बोर्ड बैठकले विभिन्न नौवटा निर्णय गरेको थियो । सोही बोर्ड बैठकले यही असोज २८ गते क्यानको साधारणसभा गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया