‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

काठमाडौं । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन् ।

पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले त्यही राति थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए ।

राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै सङ्केत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । जैसवालको असोज ५ गते पिसिआर परीक्षण गरिएको थियो ।

उनका अनुसार जैसवालको रिपोर्ट पोजेटिभ आएको थियो । तीन दिनदेखि शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया सुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक सेञ्चुरीले बताए । रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका सङ्केत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो । वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले स्पष्ट पारे ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बास्कोटाले बताए । कारागार भित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो । शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन् । जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया