पर्यटकीय गन्तव्य बन्दै, दिदीबहिनी झरना

इलाम नगरपालिका–३ पुवामझुवाको महभिरस्थित दिदीबहिनी झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । स्थानीय बासिन्दाको सक्रियतासँगै झरनाको मुहारमा परिवर्तन भएपछि पर्यटकको रोजाइ बन्न थालेको हो । पछिल्लो समय दिदीबहिनी झरनामा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई झरना नजिकमा रहेकाले यस झरनालाई दिदीबहिनी नामाकरण गरिएको हो । दुवै झरना करिब ५० मिटरको दुरीमा रहेको छ । झरनाको उचाइ अहिलेसम्म मापन गरिएको छैन । ठूल्ठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिन्छ ।

मेची मार्गको बाघखोर बजारदेखि करिब दुई किलोमिटर यात्रा गरेपछि दिदीबहिनी झरना पुग्न सकिन्छ । सानाठूला सवारी साधनहरू झरना छेउसम्म पुग्ने भएकाले आन्तरिक पर्यटकको यहाँ निकै भिड देखिन्छ । झरनाको सुन्दर दृश्य हेर्न दैनिक सयौं पर्यटक आउने गरेको स्थानीय सोम सुनुवारले बताए ।


‘पहिले यहाँसम्म पुग्ने सडक थिएन, एकदम कष्टकर यात्रामा फाट्टफुट्ट मात्र मानिसहरू झरना पुग्ने गर्दथे’ सुनुवारले भने, ‘अहिले सडकको सुविधासँगै दैनिक पाँच सयको संख्यामा पर्यटकहरू झरना पुग्ने गरेका छन् ।’ अन्य दिनभन्दा शनिबार बढी पर्यटक आउने गरेको उनले बताए । शनिबार सार्वजनिक बिदा पर्ने भएकाले कर्मचारीहरू बिदा मनाउन तथा पारिवारिक घुमघामका लागिसमेत दिदीबहिनी झरना पुग्न थालेका छन् ।

मेची मार्गबाट पुवामझुवातर्फ नजिकै रहेकाले पर्यटकलाई यात्रामा समेत सहज हुने सुनुवार बताउँछन् । ‘आन्तिरक पर्यटनका लागि यो स्थान उपयुक्त छ । मेची मार्गबाट नजिकै पनि पर्छ । यात्रामा सहज नै छ’ सुनुवार भन्छन्, ‘एकपटक दिदीबहिनी झरना अवलोकनका लागि आउन सबैलाई आग्रह गर्छु ।’

झरना हेर्न आएकामध्ये एक युवाले गाउँघरमा समेत पर्यटन विकास हुन थालेको बताउँदै पर्यटन प्रवर्धनका लागि यो झरना महत्वपूर्ण रहेको उल्लेख गरे । ‘अन्य ठाउँको झरना पनि देखेको छु तर यति यत्तिको सुन्दर छैन । यो त धेरै राम्रो रहेछ । एकदम रमाइलो लाग्यो’ उनले भने । सो झरनाको प्रवद्र्धनका लागि तीनै तहको सरकारको ध्यान जान सकेमा पर्यटककोे प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना रहेको उनको भनाइ छ ।


झरना अत्यन्तै सुन्दर रहेको सुनेर साथीहरूसँग घुम्न आएको पर्यटक खुसी कट्वाल बताउँछिन् । ‘नयाँ झरना छ भन्ने सामाजिक सञ्जालबाट थाहा पाएर घुम्न साथीहरूसँग आएकी हुँ’ कट्वालले भनिन्, ‘झरना साँच्चिकै राम्रो रहेछ । एकदमै राम्रो लाग्यो सुनेको भन्दा रमाइलो रहेछ ।’

स्थानीय बासिन्दाहरू झरनाको प्रचारप्रसार तथा संरक्षणमा जुटेसँगै झरनाको चर्चा पनि चुलिँदै गएको छ । चर्चा चुलिएसँगै झरनामा पुगेर तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरनाको चर्चा झनै चुलिँदो छ । यसअघि सो झरना ओझेलमा परेको थियो ।

प्रचारप्रसार सुरु भएसँगै सो झरनाको संरक्षण र प्रवद्र्धनमा सरकारको समेत नजर जान थालेको छ । झरनाको संरक्षण र प्रवद्र्धनका लागि हालसम्म ३० लाख रुपैयाँ सरकारले खर्चेको छ । दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका सचिव राजेन्द्र राईका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलामबाट २० लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकमबाट ३ सय ९० मिटर ट्रयाक सोलिङ, १ सय ४० मिटर फलामे रेलिङ, दुई वटा टहरा निर्माण, ९० मिटर ब्लक बाटो निर्माण गरिएको छ ।

त्यसै गरी आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकमबाट बहिनी झरनाबाट २ सय मिटर ६ इन्चको सोलिङ गरेर त्यसमा ४ इन्चको पिसिसी ढलाइ र १ सय १० मिटर स्टिल रेलिङ निर्माण गरिएको सचिव राईले जानकारी दिए । सवारी पार्किङ स्थल, शौचालय र धाराको निर्माण गर्न भने बाँकी नै देखिन्छ ।

वडाअध्यक्ष तीर्थ गुरुङ दिदीबहिनी झरना आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अब्बल सावित हुने दावी गर्छन् । ‘यसको प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । स्थानीयवासी, स्थानीय तह र प्रदेश सरकारबाट ध्यान दिएर काम भइरहेको छ । अझ विभिन्न निकायमा पहल गरिरहेका छौँ’, वडाध्यक्ष गुरुङले भने, ‘मेची मार्गबाट नजिकै रहेको र दुईवटा झरना सँगसँगै रहेकाले अरू झरनाभन्दा यो झरनाको महत्व बढी नै छ । आन्तरिक र बाह्य पर्यटकहरूका लागि यो झरना जिल्लाकै उत्कृष्ट गन्तव्य बन्न सक्ने निश्चित छ ।’

झरनासम्म पुग्ने पर्यटक बढेसँगै यसको प्रवद्र्धनमा स्थानीय सरकारले पनि चासो देखाएको छ । चालु आर्थिक वर्षमा पनि इलाम नगरपालिकाबाट पाँच लाख विनियोजन भएको छ । सो रकम कार्यान्वयन हुन भने बाँकी छ ।


सो झरनाको नाम सुरुमा महभिर झरना थियो । ठूलो भिरमा मौरी बस्ने र प्रशस्त मह पाइने भएकाले स्थानीयले सो भिरलाई महभिर भन्ने गर्दथे । सोही भिरबाट झरना खस्ने गरेकाले स्थानीयले महभिर झरना नामाकरण गरेका थिए । तर, नजिकै दुईवटा झरनाहरू रहेकाले दिदीबहिनी झरना उपयुक्त हुने भन्दै पुन त्यसलाई दिदीबहिनी झरनाकै नामले प्रचार गर्न थलिएको छ । कतिपयले पुरनै नाम राख्नुपर्ने भन्दै छलफलसमेत सुरु गरेका छन् । तर, दिदीबहिनी नामले नै बजेट प्राप्त भएको र हालसम्म प्रचारप्रसारसमेत सोही नाममा गरिएकाले दिदीबहिनी नामलाई नै निरन्तरता दिनुपर्नेमा पक्ष पनि छन् ।

सदरमुकाम इलामदेखि र पाँचथरको फिदिमदेखि मेची राजमार्ग प्रयोग गरेर बाघखोर बजार आइपुग्छ । त्यहाँबाट करिब दुई किलोमिटर कच्ची सडक प्रयोग गरी दिदीबहिनी झरना पुग्न सकिन्छ । सडककै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । झरनालाई जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिपरेको स्थानीय सोम राई बताउँछन् । ‘यस झरनालाई जिल्लाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ । त्यसका लागि स्थानीय स्तरबाट हामी लागिपरेकै छौँ’, राईले भने, ‘हामीलाई स्थानीय सरकार र प्रदेश सरकारबाट अझ बढी सहयोगको अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया