खोजखबर

समाजवादको यात्रा र भुल्नै नहुने जिम्मेवारी

पुरुषोत्तम पौडेल २०७७ असोज ७ गते १४:५५ मा प्रकाशित

पुरूषाेत्तम पाैडेल

हामी लामो यात्रा तय गरेर यहाँसम्म आइपुगेका हाैं । अहिलेसम्मको यात्रा समाजवादी क्रान्तिको पूर्वाधार निर्माणको निम्ति थियो । हाम्रो तर्फबाट जनतालाई कामै गरेर देखाउने निर्माणको यात्रा भने भर्खर सुरु भएको छ । अहिले हामीले राजनीतिक परिवर्तनको एउटा पडाव सम्पन्न गरेका छौँ । अव समाजवादी निर्माणको यात्रा सुरू गर्नु छ । अहिलेसम्म प्राप्त उपलब्धिहरूको जगमा उभिएर आमजनतालाई न्याय र स्वतन्त्रताको हक सुनिश्चित गर्न बाँकी नै छ । अझ हामीले भनेको समृद्धि त निकै टाढा छ । त्यसको लागि जग खन्ने काम मात्र भएको छ । यही जगमा बसेर सामाजिक न्याय र समानताका लागि गारोलगायत भवन खडा गर्ने काम बाँकी नै छ । समाजवादतिरको यात्रा त अत्यन्त धिमा गतिमा भर्खर सुरु मात्रै भएको छ ।

अहिलेको परिवर्तन ल्याउनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने तमाम सहिदहरूका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ । यो परिवर्तनका लागि भएको आन्दोलन र महान क्रान्तिका घाइते योद्धाहरूको शरीरबाट गोली र छर्राहरू निकाल्नै अझै बाँकी छ । धेरै जिउँदा सहिदहरूका बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ । बेपत्ता परिवारका बुबा र आमाहरूको आँखामा झल्किरहेका अनुत्तरित प्रश्नहरूलाई सम्बोेधन गर्न बाँकी नै छ । आन्दोलनका क्रममा अभिभावक गुमाएका बालबालिकाहरूको भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ ।

आफ्नो दुःख टार्न सडकमा भारी बोक्दावोक्दै नाम्लो बिसाएर आन्दोलनको मैदानमा छाती खोलेर उत्रँदा घाइते भएकाहरूको परिवारको दशा सुधार्न बाँकी नै छ । अब त देशमै रोजगारी पाइन्छ कि भनेर आशा गरिरहेका लाखौँ युवाहरूको सपना, अब फेरी प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गन्दै विदेशमा काम गरेर बसिरहेका लाखौँलाख नेपाली दाजुभाइ दिदीबहीनीको आशा, अनि लामो समयदेखि प्रवासमा रहेर नेपालीको सुदिन हेर्न चाहाने आफन्तहरूमा विश्वासको सञ्चार गर्न अझै बाँकी छ ।

नेपाल र नेपालीको निम्ति गर्नै पर्ने यस्ता महत्वपूर्ण कामका क्षेत्रहरूमा हामीले सिन्कोसम्म भाँच्न सकेका छैनौँ । गाउँका गरिबहरूको पीडा कम गर्न बाँकी नै छ । जमिन्दार तथा साहुको खेतमा काम गरेर मात्र दुई छाक टार्न वाध्य कृषि मजदुरहरूको दुःख बुझ्ने काम भएकै छैन । एक टुक्रा भूमिको निम्ति संघर्ष गर्दा गर्दै कपाल फुलेका भूमिहीन किसानहरूको आवाज सम्बोधन गर्न बाँकी नै छ । अनी कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी भूमिसुधार होला र आफ्नो भविष्य पनि सुरक्षित होला भनेर आशाको नजरले हेरिरहेका दलित, सुकुम्बासी तथा खेतीहर किसानहरूलाई अहिलेसम्म हामीले केही दिन सकेका छैनौँ ।

देशलाई आत्मनिर्भर बनाउने कुरा बल्ल सुरू भएको छ । उत्पादन वृद्धि गरेर आयात घटाउन आवश्यक पूर्वाधारको काम सुरू गर्नै बाँकी छ । देशका लागि आवश्यक विद्युत् उत्पादन गरेर लोड सेडिङ अन्त्य गर्ने र विद्युत् निर्यात गर्ने लक्षसहित अघि बढ्ने काम गर्नै छ । अहिलेसम्म देशका सबै जिल्लामा सडक यातायातको पहुँच पुगेको छैन । देशका सबै पालिकाहरूमा पुग्ने सडक सञ्जाल बनाउनै बाँकी छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग सुरू मात्र भएको छ । एकमात्र पूर्व–पश्चिक हाई वे अत्यन्त साँघुरो र जीर्ण भइसकेको छ । यसलाई फराकिलो बनाउने काम बाँकी नै छ ।

पूर्व–पश्चिम रेल कुदाउने सपना पूरा गर्न धेरै अझ धेरै पापड बेल्नुपर्छ । संसारको आगमनलाई थेग्न सक्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम त सुरू भएकै छैन । तराई–मधेसलाई हिमालसँग जोड्ने चौडा सडकहरू बनाउन बाँकी नै छ । हिमाली सुन्दरतालाई तराईसँग जोड्ने सम्पर्क सडकहरूको जालो बनाउने माग बढिरहेको अवस्था छ । हामी कता कता उसै उफ्रीपाफ्री गरिरहेका छौँ । के के न प्राप्त गरेजस्तो गरी गुड्डी हाँकिरहेका छौँ । हामीले पाएको बहुमत रमाइलो गरेर बिताउनका लागि अवश्य होइन । हामीले पाएको सरकार बनाउने अवसर ‘नरिवल’ बनाउनका लागि पनि होइन ।

हामीले सुशासन कायम गर्ने ठूलाठूला भाषण ठोकेका छौँ । भ्रष्टाचार र बेथितिलाई समाप्त पार्ने डंका पिटेका छाैँ। समाजमा व्याप्त अन्याय, अत्याचार र घुसखोरीलाई जरैदेखि उखेलेर फालिदिने विश्वास दिलाएका थियौँ । गाउँघरमा व्याप्त वर्गीय, जातीय तथा क्षेत्रीयसहित सबै खालका भेदभावलाई निमिट्यान्न पार्ने वाचा गरेका छौँ । विकृति, विसंगति र कुरीति तथा कुसंस्कार हटाउने संकल्प गरेका थियाैँ । यति मात्र होइन्, हामीले आमजनतालाई उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र व्यावसायिक र रोजगारीमूलक शिक्षाको कुरा गरेका छौँ ।

जनतालाई साधारण स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने वाचा गरेका थियौँ । हरेक नागरिकको परिवारलाई आवासको व्यवस्था गर्ने भनेका थियौँ । सबैलाई खाद्य सुरक्षाको ग्यारेन्टी गर्ने घोषणा गरेर आएका हौँ । यी सवै नेकपाले मेचीदेखि महाकालीसम्मका आमजनताको बीचमा गरेका बाचावन्धन तथा प्रतिवद्धता हुन् । नेकपा र यसका नेताहरूले यतातिर गहिरो गरी छलफलमा जुट्नुपर्ने हो । हामी त अन्तैतिर रूमल्लिइरहेका छाैँ । हामी किन अरूअरू काममा अल्झिरहेका छौँ ? आमजनतालाई लागिरहेको छैन कि हाम्रो सरकार हाम्रै काममा लागि हो भन्ने !

लौ भन्नुस् त ? आफ्ना जिम्मेवारीका यी सारा कामलाई अधुरै छाडेर हामी अन्तै कतै रमाउन थाल्याैँ भने के हुन्छ ? मानौँ राम्रै काममा लागि रहेको भए पनि जनताले महसुस गरेनन् भने के हुन्छ ? अनी एक्का दुक्का भएका सकारात्मक उपलव्धिलाई चमत्कार ठान्दै गन्तव्यमै पुगिसकिएजस्तो ठानेर अगाडिका यति धेरै जिम्मेवारी बिर्सन थाल्यौँ भने के हुन्छ ? हामीलाई थाहा छ, यसो गरेर कुनै सकारात्मक परिणाम आउनेवाला छैन । हाम्रा अगाडि देश र जनताप्रति यति धेरै अभिभारा र दायित्व छ । हाम्रा अगाडि इतिहासले दिएको यति ठूलो जिम्मेवारी छ । हाम्रा अगाडि हामीले आँटका साथ जारी गरेको चुनावी घोषणापत्रले तोकी दिएको जिम्मेवारी छ ।

हाम्रा अगाडि मानवताका नाताले पनि गर्नुपर्ने केही महत्वपूर्ण जिम्मेवारी छन् । यी सवै जिम्मेवारीलाई एकपटक गम्भीर भएर मनन ग¥यो भने बल्ल हामीलाई कर्तव्य बोधको चेत हुनेछ । अब पनि हामीले जोखिमरहित र स्थापित सत्ताको बागडोर सम्हालेजस्तो राइँदाइँ गर्ने समय छ ? अब पनि हामीले राज्यप्रति उत्तरदायी भएर गर्ने काम छोडेर तेरीमेरीमा लागेर हुन्छ ? अब पनि हामीले संकीर्ण स्वार्थमा रूमल्लिएर आमजनताको चासो र विश्वास भुल्न मिल्छ ? अवश्य मिल्दैन । जति अल्मलिनु थियो अल्मलिइसक्यौँ । जति पनि विवाद र झमेला गर्नु थियो गरी सक्याैँ ।

हाम्रो आधाभन्दा बढी समय बितिसक्यो । हामीले करिब ६ महिना वहस गरेर बितायाैँ । हामीलाई अल्मलिने र अल्छी गर्ने छुट छैन । समयले कसैलाई पर्खेर बस्दैन । इतिहास वडो निर्मम हुन्छ, यसले कसैलाई छोड्दैन । पार्टीका महामहिम नेता, महारथी र सारथीहरूले आफूलाई देश र जनताले सुम्पेका गहन जिम्मेवारीहरू पूरा गर्ने काममा पूर्ण शक्तिका साथ लगाउनुको विकल्प छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय