विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।

पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् ।

मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाईँ, नागरिक समाजका अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्राधिकणमा बुझाइएको हो ।

ज्ञापनपत्रमा प्राधिकरण आउनुपहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाइ हुनुपर्ने, एक हप्ताभित्र नियमित बत्ती आउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

यता नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिले जडान गरेको उपकरणमा प्राय समस्या आइराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बताएको छ । उपकरणको पिएलसी सफ्टवेयरमा आएको समस्याका कारण खलङ्गामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिङ्गो टिम लागि परेको प्राधिकरणका जुम्ला प्रमुख गौरव पाण्डेले बताए । – रासस

प्रतिक्रिया