आन्तरिक उडानसँगै धनगढीमा उब्जियो आशा

धनगढी । ६ महिना लामो बन्दाबन्दीपछि सोमबारदेखि आन्तरिक उडान सुरु भएको छ । कोरोना कहरका कारण ११ चैतदेखि बन्द भएको धनगढी विमानस्थल पनि सञ्चालनमा आएको छ । सोमबारदेखि बुद्ध एयरले काठमाडौं–धनगढी उडान भरेको छ ।  सोमबारबाट धनगढी विमानस्थल सञ्चालनमा आएसँगै हवाइ यात्राका लागि अत्यावश्यक कामले नागरिकहरू विमानस्थलमा पुगी जहाजको पर्खामा थिए । बन्दाबन्दीका कारण सडक यातायातमा चर्काेमूल्य तिर्नु परेकोमा अहिले हवाइजहाज सञ्चालनमा आएसँगै सहज भएको सिर्जना खडकाले बताइन् ।

हवाइ यातायात सुरु भएसँगै हुने आवतजावतले केही राहत मिल्ने भन्दै होटल व्यवसाय पनि हर्षित छन् । हालसम्म ठप्प रहेका होटलहरूमा यात्रुको आवागमन हुने भन्दै उनीहरू पनि आन्तरिक तयारीमा छन् । यद्यपि, अन्तर्राष्ट्रिय नाका नखुलेसम्म, गोष्ठी, सेमिनारहरू नभएसम्म व्यवसायले गतिलिन नसक्ने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि प्रभावित बनेको थियो । आन्तरिक उडान सुरु भएसँगै कोरोना कहरका कारण धरासायी बनेका पर्यटकीयस्थलको क्रमिक रूपमा गतिलिने नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।  अहिले कोरोना संक्रमणका पनि बीच हवाइ सेवा सुरु भएपछि केहीदिनमै फेरी बन्द हुने भन्दै टीका–टिप्पणी पनि भइरहेका छन् । सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान गरेको छ । श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुडथापाले बताए ।

केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको उनले बताए । विगतका दिनमा दैनिक पाँच वटा फ्लाइट हुने गरे पनि अहिले दैनिक दुई वटा फ्लाइट हुने उनले बताए । पुरानै भाडादरमा विमानहरूले यात्रु बोकिरहेकाले निकै सहज हुने अपेक्षा गरिएको उनले बताए । स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरिएको उनको दाबी छ ।

गत ९ चैतदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइनेछ । उच्च ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको विमानस्थल प्रमुख बुडथापाले बताए ।

प्रतिक्रिया