जिप्रका सिराहद्वारा भदौ महिनाको कार्य प्रगति सार्वजनिक

सिरहा । जिल्ला प्रशासन कार्यालय सिराहले दैनिक र मासिक सम्पादन भएका काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रदीप कँडेलले जिम्मेवारी सम्हालेको केही दिनमै कार्यालयबाट नमुना कामको थालनी गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिराहले कार्यालयबाट भएका काम र संकलन भएको राजस्व सार्वजनिक गरेको छ । सरकारी कार्यालयमा सूचना लुकाउने घटनाले सेवाग्राही सूचनाको अधिकारबाट वञ्चित हँुदै आएका थिए । तर, सिराह जिल्ला प्रशासनले सखुवानान्कारकट्टी गाउँपालिकाले जस्तै दैनिक र मासिक सम्पादन भएका काम र संकलन भएको राजस्व सार्वजनिक गर्न थालेको छ ।

सखुवानान्कारकट्टी गाउँपालिकाले दैनिक र मासिक आम्दानी, खर्च र सबै गतिविधि हरेक दिन सार्वजनिक गर्दै आएको छ । भदौ महिनामा जिल्ला प्रशासन कार्यालय गरेको सार्वजनिक कार्यमा वंशज नागरिकता २७ जनालाई, प्रतिलिपि नागरिक २० जनालाई प्रदान गरेको, कोभिड–१९ को अवस्थाबारे बुझ्न नौपटक बैठक बसेको, विविध बैठक एकपटक बसेको, बजार अनुगमन एकपटक गरेको । जिल्ला सुरक्षा समितिको बैठक पाँचपटक बसेको जनाएको छ ।

त्यसैगरी साधारण राहदानी सिफारिस १७ जनालाई, द्रुत राहदानी सिफारिस पाँच जनालाई, मधेसी र जनजाति प्रमाणित नौ जनालाई, फोटोसहित प्रमाणित पाँच जनालाई । नाबालक परिचय पत्र एक जनालाई दिएको जनाएको छ । सोही महिनामा मुद्दा दर्ता १३ वटा, फैसला १६ वटा, उजुरी फस्र्योट १२ वटा गरेको, हातहतियार नवीकरण एक वटा तथा संघसंस्था नवप्करण ३ वटा गरेको छ । कारागारमा बन्दीको संख्या ५ सय ९९ र २ जना आश्रित रहेको विवरण सार्वजनिक गरेको छ ।

यसैगरी भदौ महिनामा वैदेशिक रोजगार क्षतिपूर्ति १९ लाख २६ हजार ४ सय १७ रुपैयाँ र दैवी प्रकोपमा पाँच हजार रुपैयाँ वितरण गरेको छ । त्यसैगरी सवारी दुर्घटनाबाट पीडितलाई ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको समेत सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनामा २३ हजार ६ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महिनाको बजेटबाट १३ लाख २५ हजार ९ सय ८६ रुपैयाँ खर्च गरेको सार्वजनिक गरेको छ । प्रजिअ कँडेलले नागरिकको सुसूचित हुन पाउने अधिकारलाई ख्याल गरेर कार्यालयबाट सार्वजनिकीकरणको काम थालनी गरेको बताए । उनले उक्त कार्यालयबाट सूचना सार्वजनिक गर्ने काम निरन्तर अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया