तीन हजार खसीबोका ल्याउने तयारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँलाई लक्षित गर्दै तीन हजार खसी, बोका र च्याङ्ग्रा खरिदको तयारी गरेको छ । हरेक वर्ष बजारमा मूल्य नियन्त्रणका लागि खाद्यले खसीबोका किनेर सर्वसुलभ रूपमा बिक्री गर्दै आइरहेको छ ।  संस्थानले १४ सय च्याङ्गा र १ हजार ६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताएकी छन । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनको भनाइ छ ।

संस्थानले विगत वर्ष जस्तै यो वर्ष पनि चामल, दाल, तेलजस्ता खाद्यवस्तु बिक्री गर्ने जनाएको छ । सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताएकी छन् । एकीकृत रूपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दाबढी स्थानमा सुपथ मूल्य सपल सञ्चालन गरिने उनको भनाइ छ ।

संस्थानले हरेक वर्ष दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरिएको थियो । यसपटक खाद्यले खसीबोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रतिक्रिया