अर्थसमितिमा चार उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चार वटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति, र सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो ।
राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पदम गिरी, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा नेकपाका सांसद सत्य पहाडी, बैंक तथा वित्तीय संस्था उपसमितिमा नेकपाका सांसद जुलीकुमारी महतो र सार्वजनिक संस्थानका अध्ययन उपसमितिको संयोजकमा नेकपाका सांसद मेटमणि चौधरी चयन भएका छन् ।

समितिका सभापति कृष्णप्रसाद दाहालले अर्थतन्त्रका विभिन्न क्षेत्रमा अध्ययन गरी सरकारलाई सुझाव दिने उद्देश्यले अध्ययन उपसमिति गठन गरिएको स्पष्ट पारे । बैठकमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले समग्र अर्थतन्त्रको अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । देशको अर्थराजनीतिको समस्याको पहिचान र समाधान उपसमिति गठन गरी अर्थसंरचना कुन चरणमा पुग्यो भन्ने सम्बन्धमा अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक संस्थानको अध्ययन गर्दा हाल भएका संस्थानको अध्ययन गर्ने मात्रै नभएर नयाँ संस्थान बनाउने या नबनाउने सम्बन्धमा समेत अध्ययन गर्नुपर्ने बताएका छन । अर्थराजनीतिको समग्र विषयमा समेत अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।  त्यसैगरी पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समग्र अर्थतन्त्र र सरकारले लिएका आर्थिक नीतिहरूको बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिएका छन । बैठकमा सांसदले कोभिड–१९ बाट देशको अर्थतन्त्रमा गम्भीर असर परेकाले समग्र क्षेत्रको सुक्ष्म अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए ।

मंगलबार गठित उपसमितिले नेपालको राजस्व, कर नीति, नेपालको सार्वजनिक खरिद व्यवस्थापन, बैंकहरूका निक्षेप र कर्जा लगानीको अवस्था, तथा सार्वजनिक संस्थानहरूको वित्तीय तथा कार्यगत स्थितिको सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र रही अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया