विभिन्न अपराध फरार मुद्दाका १३४ पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् ।

गत असारमा नौ, साउनमा ४५, भदौमा ५४ र असोज चार गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

एकै दिन पक्राउ परे २५ जना

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतले विसं ०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उनलाई एक वर्ष कैद र रु दश हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो । तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत चार वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

त्यसैगरी लागुऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विसं ०७७ वैशाख २ गते लागुऔषध सम्बन्धि मुद्दामा उनलाई ६ महिना कैद तथा रु तीन हजार जरिवाना हुने फैसला गरेको थियो । तीमध्ये चार महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतबार पक्राउ परेका छन् । उनीहरुलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ ।

प्रतिक्रिया