आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै ६ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न सुरु भएका हुन् ।

रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताए । उनले भने, ‘आजदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेकाले आश जगाएको छ ।’

असोज ७ गतेपछि क्रमशः पर्यटक आउन सुरु गर्ने अनुमान उनको छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैँ अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ । होटल बन्द भएपछि भएको फोहर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उनले जानकारी दिए ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जङ्गल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए । घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले आउनु परेका सौराहा आउने गरेको उनको भनाइ छ । उनले भने, ‘क्रमशः पर्यटकको सङ्ख्या बढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौँ ।’

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैँ अघि होटल खोल्ने मनस्थितिमा छैनन् । उनले भने, ‘ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैँ अघि होटल खोल्ने मनस्थितिमा म छैन ।’ खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।

सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यही असोज ७ गतेपछि खोल्नका लागि सबैले तयारी शुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरु भएसँगै पर्यटक बढ्ने उहाँको अनुमान छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश आजदेखि खोलिएको बताए । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराइन्छ । बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उनले जानकारी दिए ।

चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

आन्तरिक उडान सुरु

भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान सुरु भएको छ । गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो । यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान सुरु गरेका हुन् ।

आज दुवै एयरलाइन्सले दुई–दुई वटा उडान भर्दैछन् । बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ । ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान सुरु गरेका हुन् ।

विमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो । लकडाउन अघि दैनिक पाँच वटा बुद्धले र तीन वटा यतीले उडान भर्दै आएका थिए । दुवै एयरलाइन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमाडौंबाट चितवन गरेका थिए । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख योज्ञेन्द्र कुँवरले सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान सुरु गरिएको बताए ।

प्रतिक्रिया