साइकल सम्मेलनमा कला कार्यशाला

काठमाडौं । साइकलले मानवीय स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावमा केन्द्रित रहेर एक दिने कला कार्यशाला सम्पन्न भएको छ । वैश्विक महामारीका रुपमा कोरोना संक्रमणले आक्रान्त पारिरहेको बेला आइतबार आठ जना कलाकारले साइकल र यसले प्रकृति, वातावरण, स्वास्थ्य लगायत अर्थतन्त्रमा पार्ने प्रभावमा आधारित चित्र रचना गरे ।  कार्यशालाको शुभारम्भ गर्दै विश्वसाइकल यात्री पुस्कर शाहले मानिसको जीवन, प्रकृति, अर्थतन्त्र, स्वास्थ्य तथा सामाजिक एवं सांस्कृतिक रुपमा समेत साइकलको महत्व विशिष्ट रहेको धारणा व्यक्त गरे । उनले कला र खेलकुदले मानिसलाई सदैव सकारात्मक बनाउन सहयोग गर्ने जनाउँदै कार्यशालामा सीमित कलाकारमात्र सहभागी गराइएको जानकारी दिए । उनले भने, ‘कार्यशालामा सिर्जित कलाकृतिलाई उपयुक्त समय आएपछि प्रदर्शनी गरिनेछ ।’

कोरोना संक्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० लगायतका सार्वजनिक कार्यक्रम नै स्थगित गरियो । यसबाट खेलकुद पनि यसबाट अछुतो रहेन । यसै वर्ष १ सय ७० देशका ७ हजारभन्दा बढी साइकल यात्री सहभागी रहने तय भएको ‘विश्व साइकल सम्मेलन–२०२०’ समेत अन्योलमा प¥यो । कोभिड–१९ का कारण भौतिक रुपमा सम्भव नभए पनि अनलाइनमार्फत विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेरसुरु भएको सम्मेलनको दोस्रो दिन गरिएको कार्यशालाको उद्देश्य पनि स्वास्थ्य जीवन, प्रकृति र पर्यावरणमा केन्द्रित थियो । सम्मेलनका संयोजक तथा विश्व साइकलयात्री पुस्कर शाहले नेपालमा गर्न लागिएको सम्मेलन कोभिड–१९ का कारण भौतिकरुपमा कार्यक्रम गर्न नसकिएको जानकारी दिए ।

कार्यशालामा पुस्कर शाहका साथमा ओम गुरुङ, अजित शाह, बिके नरबहादुर, केशव राज खनाल, देवेन्द्र थुम्केली, नहकुल विश्वकर्मा, प्राज्ञ लालकाजी लामा, स्वेता पाण्डेले चित्र बनाएका थिए । लामो समयपछि कार्यशालामा सहभागी भएको बताउँदै कलाकार अजित साहले सकारात्मक र पवित्र उद्देश्यका साथ कार्यक्रम गरिएको धारणा व्यक्त गरे । उनले भने, ‘महिनौको बन्दाबन्दीबाट आजित भएको अवस्थामा भौतिक दुरी कायम गर्दै कार्यशालामा सहभागी हुँदा आनन्दको अनुभव भएको छ ।’ कार्यशालमा सहभागी कलाकार नरबहादुर बिकले कला र खेलकुदको सम्बन्ध निकै गहिरो र सिर्जनात्मक रहेकाले पनि कार्यशाला निकै सफल भएको जिकिर गरे । उनले भने, ‘नेपालकै लागि गर्व गर्न सकिने यस प्रकारको विश्व सम्मेलनमा कलाले पनि स्थान बनाउन सक्नु सबै कलाकारका लागि गौरवको विषय हो ।’

ललितकला क्याम्पसमा कला अध्ययन गरेका विश्व साइकलयात्री शाहले चित्र कोर्दा कला अध्ययन गर्दाको समयको स्मरण गर्दै सिर्जनाले मानिसलाई ऊर्जाशील, गतिशील र सकारात्मक बनाउन सहयोग गर्ने बताए । उनले धेरै कलाकारलाई सहभागी गराई कला कार्यशाला र प्रदर्शनी गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण सीमित कलाकारलाई मात्र समावेश गराउन सकिएको सुनाए । उनले एक सातासम्म आयोजना हुने सम्मेलनमा कविगोष्ठीका साथै साइकल यात्राका रोमाञ्चक अनुभव आदानप्रदान अनलाइनमार्फत गरिने साथै साइकल प्रयोगमा प्रोत्साहित गर्न विविध रचनात्मक कार्यक्रम आयोजना गरिने जानकारी दिए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा सहभागी कलाकार केशव राज खनालले कार्यशालाले मानिसको जीवनमा खेलकुदको महत्वसँगै सिर्जनाले सकारात्मक भाव सम्प्रेषण गर्न सक्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया