कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको वीऊ वितरण

प्युठान । प्युठानको एक स्थानीय तहले आफ्ना कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको वीऊ वितरण गरेको छ । प्युठान नगरपालिका–२ ले स्थानीय कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको वीऊ वितरण गरेको हो ।

आइतबार वडा कार्यालयमार्फत वडाका ३ सय ८७ कृषकलाई ५० प्रतिशत अनुदानमा स्रोत सहितको कार्डिनल जातकोे आलुको वीऊ वितरण गरिएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

एक कृषकलाई मागको आधारमा वढिमा ५० केजी र घटिमा ५ केजी आलु वीउ वितरण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । अनुदानमा आलुको वीऊ लिएका कृषकहरुको रोगबाट आलुखेती वचाउन वडाबाटै औषधि उपलब्ध गराउने समेत उनले बताए ।

वडाबाट वितरण गरिएको आलुको वीऊ कृषकले लगाए– नलगाएको समेत अनुगमन गर्ने प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताए । अब कृषकलाई मल बीउ किटनासक औषधि अभाव हुन नदिने मेयर कक्षपतिले बताए । निर्वाहमुखी होइन ब्यवसायिमुखी बन्न समेत कृषकलाई आग्रह गरेका छन् ।

कृषकले उत्पादन गरेको अन्न तथा तरकारी खरिद गरि कृषकलाई उचित मुल्य निर्धारण गरिदिने समेत कक्षपतिले बताए । अनुदानमा आलुको बिउ पाउँदा स्थानीय कृषकहरु खुशी भएका छन् । यो कार्यक्रमले प्रत्यक्ष कृषिमा आश्रीत किसानलाई फाइदा पुग्ने अपेक्षा नगरले लिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया