पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीसहर–चामे सडक खण्डको खरखरेभिरमा शनिबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  बेँसीसहर नगरपालिका–६ मा सडकभन्दा करिब तीन सय मिटर माथिबाट ठुल्ठूला ढुंगासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनियर सुमन अधिकारीले बताए । उनले भने, ‘तत्काल सडक खुलाउने सम्भावना छैन । यहाँनिर साँघुरो सडक छ, जमिन गलेको छ, सडक तल मस्र्याङ्दी नदीले खोतलेको छ भने माथिबाट पहिरो खस्ने गरेको छ ।’

सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोले करिब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुंगामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो । सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया