कैलालीमा विद्यालय नुखुले पनि पठनपाठन हुने

धनगढी । विद्यार्थीको सिकाइका लागि कैलालीका स्थानीय पालिकाहरूले मापदण्ड तयार गरी पठनपाठन सुरु गर्ने तयारी थालेका छन् । संघीय सरकारले शिक्षण सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै पालिकाहरूले मापदण्डमा टेकेर पठनपाठन सुरु गर्ने तयारी गरेका हुन् । यसका लागि पालिकाहरूले अनुकूल वातावरण मिलाई पढाइ सुरु गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् । घोडाघाडी नगरपालिकामा भने आइतबारबाट पठनपाठन सुरु हुने भएको छ ।

‘आजबाटै पढाइ सुरु गर्ने भनेका थियौँ, घोडाघोडी आधारभूत विद्यालका प्रधानाध्यापक रामप्रसाद सापकोटाले भने,’ ‘प्राविधिक कारणले सुरु गर्न सकेनौँ । अब आइतबारबाट सञ्चालन गर्ने तयारी छ । विद्यार्थीको संख्या कम छ । त्यसैले आलोपालो कक्षा सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

‘निर्देशिकाअनुसार तयारी सकेका छौँ’, कालिका आधारभूत विद्यालय शीतलपुरका प्रधानाध्यापक कृष्ण चौधरीले भने, ‘हामीसँग संरचना छ । नियमित विद्यालय पनि सञ्चालन गर्न पनि सक्छौँ ।’ ‘कम विद्यार्थी भएका बिद्यालयहरूलाई पठनपाठन सुरु गर्न सजिलो छ । हामीलाई त गाह्रो नै छ’, कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरका प्रधानाध्यापक उमाकान्त मिश्रले भने, ‘हामी पनि तयारीमा छौँ । विद्यार्थीको विवरण संकलन गरिरहेका छौँ । केही दिनमै शिक्षण सिकाइ सुरु गर्छौं ।’

विद्यालय अनुकूल शिक्षण सिकाइ सुरु गर्न घोडाघोडी नगरपालिकाले विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यहीअनुसार नगरभित्रका निजी र सामुदायिक विद्यालयहरूले गृहकार्य गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले बताए ।

‘बढी विद्यार्थी भएका विद्यालयहरूको हकमा भने टोलटोलमै शिक्षा, आलोपालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालनको विकल्प छ’, रेग्मीले भने, ‘विद्यार्थी जम्मा गरेरै पढाउनु परेमा भने मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरी कामय गर्नै पर्ने उनले बताए ।’

कोरोना महामारीले बन्दाबन्दी लम्बिँदै गए पनि अब भने सरकारले निश्चित मापदण्ड तोकेर निर्देशिका तयार गरी पठनपाठन सुरु गर्न भनिएको छ । निर्देशिकाअनुसार नै कैलालीका १३ वटै पालिकाभित्रका विद्यालयहरूले तयारी गरिरहेको जिल्ला शिक्षा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले बताए । ‘निर्देशिकाअनुसार कैलालीका सबै पालिकाहरूले तयारी थालेका छन् । केही दिनभित्रै जिल्लाभर नै सिक्षण सिकाइ सुरु हुन्छ,’ प्रमुख सुवेदीले भने ।

प्रतिक्रिया