लिमीवासीलाई भोकमरी हुने संकेत

हुम्ला । जिल्लाको उत्तरी गाउँपालिका लिमीका वासिन्दालाई कोरोनाका कारण आर्थिक संकट र खाद्यान्नको संकट भएको छ । आर्थिक संकटका कारण लिमीवासीलाई भोकमरी हुने सम्भावना बढेको छ । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय नाका बन्द भएपछि त्यहाँका वासिन्दालाई समस्या हुन गएको हो । चीनको पुराङ काउन्टीको ताक्लाकोट र त्यसको आसपासका क्षेत्रमा दैनिकमजदुरी गरेर आर्थिक उपार्जन गर्ने लिमीवासीको गएको चैत महिनादेखि रोजगारीसमेत गुमेको छ ।

रोजगारीका लागि दैनिक ज्यालामजदुरी, निर्माणको काममा लिमीका स्थानीयले हरेक वर्ष काम गरेर चार देखि १० लाखसम्म आम्दानी गरेर घरखर्च गर्ने गरेको भएता पनि यो वर्ष काम र आम्दानी ठप्प भएको छ । चीनसँगको नेपाल जोडिने हिल्सानाका, लिमीलाप्चाको नाका सिलहुँदा खाद्यान्नसमेत संकट परेको छ । त्यहाँ पाक्ने उवा, जौ एक बाली दुई महिना पनि खान नपुग्ने भएका कारण लिमीवासीले चीनबाट हरेक खानेकुराको बन्दोवस्ती मिलाउने गरेका थिए तर यो वर्ष खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामान नाकाबाट भित्र्याउन नपाउँदा अब के खाने भन्ने समस्या भएको स्थानीयले बताएका छन् ।

नेपाल खाद्य संस्थान, सिमकोट डिपोबाट वडा भागको रूपमा प्राप्त गरेको सीमित चामलले लिमीका वासिन्दालाई नपुग्ने भएपछि लिमीका तीन वटा गाउँ जाङ, हल्जी र तिलका ६१ घरधुरी चिन्तामा छन् । लक डाउनका कारण सहरमा भएका आफन्तसमेत घर फर्केका कारण अझ खाद्यान्न र आर्थिक संकट बढी भएको छ । कामको सिलसिलामा काठमाडौंलगायत अन्य सहरमा भएका घर परिवार लिमीमा फर्केपछि अझ समस्या विकराल भएको छ ।

हरेक वर्ष एक घरधुरीले खाद्यान्नलगायत अन्य बन्दोवस्तीका सामान चीनको ताक्लाकोट बजारबाट यतिखेर तीनदेखि सात ट्रकसम्म भित्र्याउने गरेको भएता पनि यो वर्ष खाने एक बोरा चामलसमेत भित्र्याउन नपाएको स्थानीय हल्जी गाउँका लोप्साङ तामाङले बताए । नाम्खा गाउँपालिका–६ का वडा सदस्यसमेत रहेका तामाङले भने । ‘भर्खर सिमकोटमा रहेको खाद्य संस्थानमा केही मात्रामा उपलव्ध गराएको चामलसमेत सिमकोट नाम्खा जोड्ने हेप्काखोलाको काठे पुल ठेकेदारले भत्काएर निर्माण नगर्दा सिमकोटमा नै थन्क्याउनुपरेको छ । दैनिक उपभोग्य सामानको अभाव भएको छ । पुल कहिले बन्ने हो थाहा छैन ।’

नाम्खाको हरेक बस्ती ४ हजार १ सय मिटर उचाइमा रहेको छ । उच्च भूभाग भएको कारण हल्कावर्षा हुनासाथ हिउँ जमेर कच्ची बाटो हिउँले पुरिन सुरु हुने भएका कारण लिमीवासीलाई सास्ती हुने सम्भावना उच्च रहेको छ । हिउँ जमेपछि लिमी उपत्यकाको सबै गाउँ सम्पर्कविच्छेद हुने गरेका छन् । जेठ महिनामा मात्रै खुल्ने त्यस क्षेत्रको बाटो हुँदै खाद्यान्न ढुवानीका लागि असौज महिनादेखि कात्तिकको पहिलो हप्तासम्म हुन नसकेमा भोकमरी हुन सक्ने सम्भावना अति नै हुने रहेको छ ।

त्यस क्षेत्रमा हाल सामान्य दैनिक उपभोग्यको सामानसमेत पाउन छोडेको छ । सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्नका लागि अति नै महँगो पर्ने र बाटोसमेत अवरुद्ध भएका कारण पनि उनीहरू समस्यामा छन् । अन्तर्राष्ट्रिय लक डाउनका कारण पनि उनीहरूको आयआर्जनमा कमी हुँदा अझ थप समस्या भएको हो । नेपाल सरकारले उपलव्ध गराएको उपभोक्ता समितको कामले कमाएको थोरै पैसाको भरमा सामान्य उपभोगको सामान खरिद गर्ने गरेको पाइएको छ । हरेक वर्ष प्रतिव्यक्ति तीनदेखि चार लाखको आयआर्जनको लागि चीनको ताक्लाकोट बजारबाट हुने गरेको भएता पनि हाल कुनै पनि आयआर्जन गर्न नपाउँदा आर्थिक संकटले लिमीका वासिन्दालाई साह्रै मर्का परेको लिमीका अधिकांश स्थानीयले दुःखेसो पोख्ने गरेका छन् ।

प्रतिक्रिया