डा. रुइतलाई ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’

काठमाडौं । सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गर्ने भएको छ । यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डा. रुइतलाई प्रदान गरिने भएको हो ।

संविधान दिवसका अवसर पारेर सरकारले डा. रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक (तक्मा) द्वारा विभूषित गरिने भएको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरूलाई आगामी नयाँ वर्ष ०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।

त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवाश्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्धक दुई, नेपाल सेवा प्रवीण एक, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक दुई, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया