कोरोना संक्रमण : बढ्दैछन् महिला संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण थपिँदै जाने क्रममा महिलाको संख्या बिस्तारै बढ्न थालेको छ । पछिल्ला केही दिनमा कुल संक्रमित मध्ये महिलाको संख्यामा वृद्धि हुन थालेको हो ।  पछिल्ला एक सातामा भेटिएका संक्रमितमध्ये करिब ३२ प्रतिशतसम्म महिला रहेका छन् । जनस्वास्थ्यविद्का अनुसार संक्रमण समुदायस्तरमा पुग्न थालेको संकेत यसले गरिरहेको बताएका छन् । केही सातादेखि उल्लेख्य संख्यामा महिलामा संक्रमण देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले बताएको छ । जनस्वास्थ्यविज्ञहरूले समुदायमा संक्रमण फैलिएको हुनाले धेरै महिलामा संक्रमण देखिन थालेको सम्भावना औँल्याएका छन् । यद्यपि, मन्त्रालयले भने अहिलेसम्म समुदायस्तरमा संक्रमण नफैलिएको बताएको छ ।

एकैदिन सबैभन्दा बढी संक्रमित महिला शुक्रबार भेटिएका थिए । नेपालमा दैनिक संक्रमितको रेकर्ड २ हजार २० संक्रमित भेटिएको शुक्रबार ६ सय ३९ महिला संक्रमित थिए । गत आइतबारदेखि शनिबारसम्म भेटिएका देशभरीका कुल ९ हजार ६ सय ७७ संक्रमित मध्ये ३ हजार ८९ महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो भनेको ३१ दशमलव ९२ प्रतिशत हो । मन्त्रालयका अनुसार गत आइतबार ३ सय ६५, सोमबार ३ सय ९९, मंगलबार ४ सय ४६, बुधबार ४ सय ४, बिहीबार ४ सय २८ महिला संक्रमित भएका थिए ।

शनिबार भेटिएका कुल १ हजार २ सय ४ संक्रमितमध्ये महिलाको संख्या ४ सय ८ रहेको छ । कुल भेटिएकामध्ये ५९ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन् । कोरोना संक्रमणले साउनको अन्तिम सातादेखि उपत्यकालाई निरन्तर गाँजीरहेको छ । दैनिक रूपमा यहाँ देशभरीमा भेटिने संक्रमितको आधा उपत्यकामा भेटिँदै गएको छ । मुलुकको सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं नै संक्रमित हुँदा कोरोनाको महामारी तत्कालै कम हुने सम्भावना नरहेको जनस्वास्थ्य विद्हरूको भनाइ छ ।

नेपालमा आउँदै गरेका चाडपर्वका कारण कोरोना संकट अझै चुलिने सम्भावना रहेको बताइएको छ । काठमाडौंबाट गाउँगाउँमा चाडपर्व मनाउन जानेहरूले संक्रमण गाउँगाउँसम्म पु¥याउने खतरा पनि उस्तै रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५ सय ७० कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार भक्तपुरमा ८३ र ललितपुरमा ५८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ पिसिआर परीक्षण गर्दा १ हजार २ सय ४ संक्रमित थपिएका हुन् । शनिबार कोरोना संक्रमितभन्दा निको भएर जानेको संख्या ठूलो रहेको छ ।

शनिबार १ हजार ४ सय ४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यसमध्ये ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ सहित ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ ।

६ सय स्वास्थ्यकर्मी संक्रमित
पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी संक्रमण देखिन थालेको छ । उपत्यकामा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिन थालेको हो । संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेको छ । संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सयभन्दा बढीमा संक्रमण देखिएको छ । कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी संक्रमित भएका छन् ।

उपत्यकामा अहिलेसम्म १५ हजार १ सय ३८ जना संक्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८ सय ५९ जना संक्रमित भएका थिए । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार शिक्षण अस्पतालमा १ सय ५० भन्दा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उनले संक्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले उक्त अस्पतालमा २७ जना मात्र स्वास्थ्यकर्मी सक्रिय संक्रमित छन् ।

यस्तै वीर अस्पतालमा १ सय १५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् । संक्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उनले जानकारी दिए । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले दुई चिकित्सक र एक जना नर्सको निको भइसकेको र अन्य पाँच जना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

प्रतिक्रिया